पोखरा ।।
सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि उक्त आकारको बजेट ल्याएका हुन् ।
यो चालु आर्थिक वर्षको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो ।
सरकारले चालु बजेट ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६१.३१ प्रतिशत हो । पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन भएको छ । यो कुल बजेटको १८.९४ प्रतिशत हो । वित्तीय व्यवस्था तर्फ ३ खर्ब ६७ अर्ब १८ करोड विनियोजन भएको छ । यो कुल बजेटको १९.७४ प्रतिशत हो ।
यस वर्ष सरकारले प्रदेश र स्थानीय तहमा ४ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ हस्तान्तरण गर्दैछ । अघिल्लो वर्ष ४ खर्ब ८ अर्ब रुपैयाँ हस्तान्तरण भएको थियो ।
स्थानीय उत्पादनसँग जोडेर कोरिडोर विकास गर्ने सरकारको घोषणा
आर्थिक वर्ष २०८१÷०८२ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले निजगढदेखि ढल्केबरसम्म पूर्वपश्चिम राजमार्ग आसपासको क्षेत्रलाई नेपाली गलैंचा कोरिडोरका रुपमा विकास गरिने बताए ।
चालू आवमा १५ खर्ब ३० अर्ब रूपैयाँमात्र बजेट खर्च हुने अनुमान
आर्थिक वर्ष २०८०÷८१ मा १५ खर्ब ३० अर्ब रूपैयाँमात्र बजेट खर्च हुने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ८७ प्रतिशतमात्र खर्च हुने अनुमान गरेका हुन् ।
नेपाललाई वैवाहिक गन्तव्य बनाउने सरकारको घोषणा
सरकारले नेपाललाई विवाह गन्तव्यको रुपमा विकास गर्ने भएको छ । सांस्कृतिक तथा पर्यटकिय गन्तव्यलाई विवाह गन्तव्यको रुपमा विकास गनिरे छ ।
उनले भने, नेपालमा वैवाहिक समारोह गर्न आउने पर्यटकलाई सहजिकरण गरि सांस्कृतिक तथा पर्यटकिय गन्तव्यलाई विवाह गन्तव्यको रुपमा विकास गरिनेछ। राम जानकी विवाहस्थल जनकपुरलाई वेडिङ हब र गौतम बुद्ध जन्मस्थल लुम्बिनीलाई बर्थिङ हबको रुपमा प्रवर्द्धधन गरिने छ । ‘
सूचना प्रविधि क्षेत्रमा पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य
सरकारले आगामी आर्थिक वर्षलाई सूचना प्रविधिको दशकको प्रस्थान वर्षका रुपमा अघि बढाउने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् ।
सूचना प्रविधि क्षेत्रमा १० वर्षका ३० खर्व रुपैयाको निर्यात गर्ने र पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य छ ।
कृषिमा लगानी दशक घोषणा
सरकारले आगामी दशकलाई कृषिमा लगानीको दशक घोषाणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् ।
प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब रुपैयाँ दिने घोषणा
सरकारले आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब रुपैयाँ दिने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले प्रदेश र स्थानीय तहलाई समानिकरण अनुदान, समपूरक अनुदान, ससर्त अनुदान र विषेश अनुदानका साथै राजस्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरेको बताए ।
नेपालमा १६ लाख पर्यटक भित्र्याइने
सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले १६ लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रवर्द्धन कार्यक्रम अघि सारिएको बताए । नयाँ गन्तव्यको पहिचान गर्ने पनि उनले बताए । त्यस्तै, पर्यटकलाई एकद्वार प्रणालीबाट सेवा प्रदान गरिने योजना छ ।
छिमेकी मुलुक चीन र भारत लगायत मुलुकमा पर्यटन प्रवर्द्धन लक्षित कार्यक्रम गरिने पुनले बताए ।