पोखरा ।।
पोखराको पर्यटन प्रवद्र्धनका लागि ‘डुलुवा’ टोली भारत भ्रमणकाे लागि प्रस्थान गरेका छन् । उनीहरु एक महिने भारत भ्रमणका लागि प्रस्थान गरेका हुन् ।
नेपालको कास्कीकोट देखि भारतको कन्याकुमारीसम्मको भ्रमणलाई ‘केटुके’ नाम दिएर पर्यटन प्रवद्र्धनात्मकमा उनीहरु निस्किएका हुन् । भ्रमण अगष्ट १ देखि शुरु भएर २५ मा पोखरामा नै आएर टुङ्गिने छ ।
अाजबाट कास्कीको पोखराबाट शुरु भएको भ्रमण रक्सौल, पटना, कोलकाता, पुरी, भाइजाग, चेन्नई, पोंडिचेरी, रामेश्वरम, कन्याकुमारी, कोची, गोवा, मुम्बई, अहमदाबाद, द्वारका, जयपुर, दिल्लीहुँदै पुनः पोखरामै आएर समापन हुने साे टाेलीले जानकारी दिएका छन् ।
उक्त ‘डुलुवा’ टोलीमा १९ छन् भने ४ वटा गाडीमा उनीहरुले यात्रा गर्नेछन् । ‘डुलुवा’ अभियानको मुख्य भने उद्देश्य नेपालको प्राकृतिक र सांस्कृतिक सुन्दरताको प्रचार गर्दै भारतीय पर्यटकहरूलाई बढ्दो साहसिक पर्यटनका सम्भावनाबारे जानकारी गराउने टोलीका संयोजक योगश भट्टराईले बताएका छन् ।
टोलीले हरेक सहरमा पुगेर स्थानिय व्यवसायी र पत्रकारसँग छलफल तथा अन्र्तक्रिया समेत गर्ने उनले बताए ।
टोलीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, भारतीय पेन्सन क्याम्प पोखराका प्रतिनिधि सुशान्तसिंह भदेल, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख नवीन पोखरेल, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले विदाई गरेका छन् ।
उनीहरुलाई विदाई गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भ्रमणले पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै भारतीय पेन्सन क्याम्प पोखराका प्रतिनिधि सुशान्तसिंह भदेलले भ्रमणले भारत र नेपालबीचको सम्बन्ध सुमधुर बनाउन भूमिका खेल्ने बताए ।
यता, नेपाल पर्यटन वोर्ड पोखरा कार्यालयका प्रमुख नवीन पोखरेलले पनि भारत पर्यटनको ठूलो बजार गएर ‘डुलुवा’ टोलीले प्रवद्र्धन गरेपछि त्यसको प्रभाव बिस्तारै पोखरामा देखिने बताएका छन् ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले ‘डुलुवा’ टोलीलगायतको भ्रमणले पोखरामा १५ लाख पर्यटक भित्राउने पोखरा महानगरपालिकाको लक्ष्य भेट्टाउन मद्दत पुग्ने बताए ।
नेपाली संस्कृतिमा प्रचलित ‘डुलुवा’लाई युवालक्षित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सन २००८ मा यो स्थापना भएको थियाे ।
यस टाेलीले नेपालका ७० जिल्लाको भ्रमण गरिसकेको छ भने विदेशमा भारतको लख्दातसम्मको यात्रा गरिसेको छ ।