पोखरा ।।
गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले आदिवासी जनजातिका भाषा र संस्कृति देशको सम्पत्ति रहेको बताएका छन् ।
उनले आदिवासी जनजाति पत्रकारहरूले आफ्नो भाषा, संस्कृति, रहनसहनलाई जीवन्त राखिरहन आफ्नो मातृभाषामासमेत पत्रकारिता गर्न आवश्यक रहेकोमा जोड दिएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश समिति र कास्की समितिले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा उनले सञ्चार क्षेत्र समावेशी हुन आवश्यक रहेको उल्लेख गरेका छन् ।
पत्रकारिता पेसामा हरेक समुदायका व्यक्तिको बराबरको सहभागिता गराउनु जरुरी रहेको समेत उनले बताए ।
महिला, आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम तथा पछाडि परेका अल्पसंख्यक लोपोन्मुख जाति समुदाय, क्षेत्र, लिंगबाट प्रतिनिधित्व गर्ने पत्रकारहरु राज्यको विभिन्न अंगमा बढी सहभागिताको खाँचो रहेकाे प्रदेश प्रमुख भट्टले भनेका छन् ।
फोनिज सम्बद्ध पत्रकारहरुले आफ्नो क्षमता अभिवृद्धि गर्दै आदिवासी जनजातिका मुद्दा, संस्कार संस्कृति, परम्परा, रैथाने प्रविधि र भाषाका विकास र अधिकारका मुद्दामा निर्भीकतापूर्वक कलम चलाउन सक्ने नेतृत्व निर्माण गर्न सकोस् भन्ने अपेक्षा पनि उनले गरेका छन् ।
उनले पत्रकारिता क्षेत्रलाई मर्यादित र व्यवसायिक बनाउनुपनमा जोड दिँदै पत्रकारिता क्षेत्रमा लागेर अझै पनि बाँच्न सक्ने स्थिति नहुनु दुःखदायी अवस्था रहेको उल्लेख गरेका छन् ।
आफूपनि पत्रकारिता क्षेत्रमा संलग्न रही नजिकबाट चिन्न पाएको स्मरण गर्दै प्रदेश प्रमुख भट्टले २०३८ सालमा सुदूर पश्चिमको पहिलो पत्रिका भीम सन्देश त्रैमासिकको संस्थापक सम्पादक भएर पत्रकारिताको अनुभव बटुलेको उल्लेख पनि गरेका छन् ।
फोनिज स्थापनाको २५ वर्ष पूरा गरी २६ औं वर्ष प्रवेशको अवसरमा वर्षभर विविध कार्यक्रम गरी रजत जयन्ती मनाइरहेकोमा उनले शुभकामना पनि व्यक्त गरेका छन् ।
उक्त अवसरमा कास्कीका पत्रकार दीपेन्द्र श्रेष्ठ र नवलपुरकी पत्रकार कमला राना मगरलाई कञ्चन पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।