पद्माप्रेम थिएटरको प्रस्तुतीमा पोखरामा भाद्र २८ गते ( शुक्रबार) देखि नयाँ नाटक “जानकी” मञ्चन भइरहेको छ।
पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक असोज ५ गते शनिबारसम्म चल्नेछ।
सुरुवातका दिनमा प्रचारप्रसार कम भएका कारण दर्शकको साथ पाउन गाह्रो भएको नाटक जानकीलाई
पछिल्लो क्रममा दर्शकले राम्रो साथ दिइरहेका छन्।
बलियो वर्ड अफ माउथ भएका कारण दर्शकको सहभागिता बढीरहेको छ। नाटक हेरिसकेका दर्शकले उत्कृष्ट प्रतिक्रिया दिइरहेका छन्।
समाजका महिलाहरूले झेल्नुपरेका संघर्ष, घरेलु हिंसा,पारिवारिक सम्बन्धहरु,साथै परिवारको लागि गरेको बलिदानलाई नाटकले मर्मस्पर्शी ढंगले प्रस्तुत गरेको छ। परिवार छोडेर विदेश जानुभन्दा देशमै केही गर्न सकिन्छ, कुनै पनि काम सानो ठूलो हुँदैन,पत्रकारिताको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने कुरा पनि नाटकले राम्रोसँग प्रस्तुत गरेको छ।
सबै कलाकारहरूको मिहेनत र अभिनय अत्यन्तै प्रशंसनीय रहेको नाटक जानकीलाई सावित्रा पाठक(सबू)ले लेखेकी हुन् भने निर्देशन गोविन्द पराजुली र शीतला अधिकारीको रहेको छ।
गोविन्द पराजुली, विभूप्रसाद भुसाल, सवित्रा पाठक सबु, ज्योति हमाल , शीतला अधिकारी, सुमन कार्की, मुना गुरुङ, विवेक गुरुङ, अभिषेक भुसाल, प्रदिप गौतम (प्रमोद), अलिसा थापा लगायतका कलाकारको अभिनय रहेको नाटक जानकीमा संगीत जय चापागाई र पोस्टर डिजाइन सन्दीप तिवारीको रहेको छ।
नाटकको शो आज (शुक्रबार) साँझ ५ बजे शनिबार दिउँसो १ बजे र बेलुका ५ बजे बाँकी रहेको छ।