साफ वुमन्स च्याम्पियनसिपकाे फाइनल खेलकाे टिकट स्थगित
  • प्रमुख खबर

काठमाडौं ।।
साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र बंगलादेशबीच हुने फाइनल खेलकाे टिकट बिक्री स्थगित गरेकाे छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार सूचना जारी गर्दै फाइनल खेलको टिकट बिक्री स्थगित गरेकाे हाे ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको नेपाल र भारतबीचकाे सेमिफाइनलमा दर्शक क्षमता भन्दा बढी टिकट बिक्री गरेको भन्दै त्यसबारे सत्यतथ्य बुझ्न तत्कालका लागि टिकट बिक्री स्थगित गरेकाे एन्फाले जनाएको हाे।

एन्फाले साफ वुमन्स च्याम्पिनयसिपको लागि माउन्ट एभरेस्ट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रा.लि.लाई टिकेट बिक्रीका लागि अाधिकारिकता दिएकाे थियो ।

दशरथ रंगशालको दर्शक क्षमता १५ हजार भएपनि आइतबारको खेलमा क्षमता भन्दा बढी दर्शक उपस्थित भएको स्राेतले जनाएको थियोे ।

बुधबार हुने बंगलादेश र नेपालबीचको फाइनल खेलमा भने रंगशालाकाे क्षमता भन्दा बढी नहाेस भन्नका लागि पनि तत्कालका लागि टिकट बिक्री स्थगित गर्ने निर्णय गरेको एन्फा प्रवक्ता सुरेश शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै एन्फाले यो सार्वजनिक सूचनालाई बेवास्ता गर्दै टिकट बिक्री वितरण गरी कुनै समस्या आइपरेमा आफूहरु जवाफदेही नहुने पनि विज्ञप्ति मार्फत जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्