पाेखरा ।।
गण्डकी प्रदेशका पुर्वमन्त्री तथा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वोच्च अदालतबाट दोषी ठहर भएसँगै सम्पर्कविहीन भएका छन् ।
गुण्डागर्दीमा संलग्न रहँदा रहँदैं राजनीतिमा पनि प्रवेश गरेका मनाङेलाई मंगलबार सर्वोच्चले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।
सर्वोच्चकाे याे अादेशसंगै उनलाई ५ वर्ष जेल सजाय हुने भएको छ ।
यसअघि पाटन उच्च अदालतले गरेको फैसलालाई सर्वोच्चका न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले सदर गरेको हो ।
उनी विरुद्ध तत्कालको पुनरावेदन अदालत पाटनले २०६९ सालमा ५ वर्षको कैद सजाय सुनाएको थियो ।
यही मुद्दामा मनाङे २०७५ साल पुसमा थुनामा समेत बसेका थिए ।
सर्वोच्चले पुस २६ गते धरौटीमा थुनामुक्त गर्न पत्र लेखेपछि उनी थुनाबाहिर भएका हुन् । त्यसपछि जेल बाहिरैबाट उनी मुद्दा लड्दै आएका थिए ।
उनको समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार हानेर हात छिनाएको थियो ।
यस घटनासंगै चक्रेकी श्रीमती इन्दिरा गुरुङले प्रहरीमा मनाङेविरुद्ध ज्यान मार्ने कसुर गरेको भन्दै जाहेरी दिएकी थिइन् ।
तर त्यस समय काठमाडौं जिल्ला अदालतले सामान्य कुटपिट मात्रै भएको भन्दै मनाङेलाई २ वर्ष कैद सजाय सुनाएकाे थियाे।
जिल्लाको फैसला चित्त नबुझ्दाे नभपछि चक्रे डनकी श्रीमती गुरुङले पुनरावेदन अदालत पाटनमा पून: मुद्दा दायर गरेकी थिइन ।
पाटनले जिल्लाको फैसलालाई उल्टाउदै ५ वर्षको कैद सजाय सुनाएकाे थियाे । तर हदम्याद नाघेको भन्दै उनको पुनरावेदन खारेज गरिएको थियो ।
अहिले उच्च अदालत पाटनको फैसलालाई सर्वोच्चले सदर गरेको हो ।