दोस्रो संस्करणको नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोट रेसमा २० टिमकाे सहभागीता रहने
  • सरिता गुरुङ

पाेखरा ।।
दोस्रो संस्करणको नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता हुने भएको छ ।

मित्र राष्ट्र चीनमा अत्यन्त लोकप्रिय रहेको ऐतिहासिक ड्रागन बोर्ड रेस गत वर्ष देखि पोखरामा औपचारिक रूपमा सुरू भए थियाे ।

यस वर्ष पनि साे प्रतियोगिता पोखराको फेवातालमा यही पौष १३ देखि १५ गतेसम्म सञ्चालन हुनेछ । यस प्रतियाेगितामा नेपालका ११, मित्रराष्ट्र चीनका ८ र सिङ्गापुरको १ गरी कुल २० समूहको सहभागिता रहनेछ।

नेपालबाट नेपाल आर्मीको एक विभागिय टिमसहित नेपाली राष्ट्रिय टिम, पोखरा महानगर टिम, नारा टिम, बागमती टिम, कर्णाली प्रदेश टिम, गण्डकी प्रदेश टिम, हिमालयन रिभर गाइड टिम, बेगनास टिम र रुपाताल टिमको सहभागिता हुनेछ ।

प्रतियोगिताका विजेताले नगद रु. ५ हजार डलर, उपविजेताले नगद रु.२ हजार डलर, तृतीय हुनेले नगद रु.१ हजार २ सय डलर र प्रतियोगितामा सहभागी बाँकी १७ वटा समूहलाई नगद रु. ५ सय डलर प्रदान गरिने पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिएका छन् ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एशाेसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एशाेसिएसनको सह-आयोजनामा हुनेछ ।

पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा आफैमा स्पोर्टसको हव भएको र पोखरामा हरेक दिन कुनै न कुनै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता हुँदै आएका छन् ।

त्यसैको एक प्रमुख इभेन्टको रुपमा ड्रागन बोट रेस रहेको बताउँदै यस प्रतियोगिताले यहाँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

उनका अनुसार पोखरा महानगर यहाँ हुने विभिन्न महत्वपूर्ण प्रतियोगिताहरुको संरक्षक समेत बनेको बताए ।

यस्तै प्रतियोगिताले नेपाल चिन दुईपक्षिय सम्बन्धमा नयाँ आयाम थप्ने, पोखरामा वाटर स्पोर्टसका नयाँ सम्भावनाहरूको खोजीमा सहयोग गर्ने, पोखराका तालहरूलाई आकर्षणको केन्द्रका रूपमा विकास गर्ने, पोखरा र आसपासको पर्यटन विकासमा टेवा पुर्याउन महत्त्वपूर्ण सहयोग पुग्ने मेयर आचार्यले विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै चिनियाँ राजदूतावासका डिसिएम वाङ् सिङले पोखरालाई पर्यटन शहरको रुपमा विकाससंगै दुई देश विचको सम्वन्धलाई बलियो बनाउन अन्तर्राष्ट्रिय ड्रागन बोट रेश महत्वपूर्ण कडिको रुपमा रहेको बताएका छन् ।

उनले पोखरा आफैमा निकै सुन्दर भएको र यहाँकाे प्राकृतिक र सांस्कृति पक्षलाई अझै उजागर गर्न मित्र राष्ट्र चिनले सदैव सहकार्य गर्ने बताए ।

उनले सन् २०२५ मा हुने पोखरा भ्रमण कार्यक्रमलाई समेत सहयोग गर्ने बताउँदै पोखराको विकासका लागि साझेदारीका कार्यक्रमहरु अघि सार्ने उल्लेख गरेका छन् ।

यस प्रतियोगिताका लागि १२९ जना खेलाडी र आफिसियल टोलीसहितको चार्टर विमान डिसेम्बर २६ तारिख चिनको छिन्चुबाट सोझै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्