पर्यटनको राजधानी पाेखरामा बि वाइ डि अन्तर्राष्ट्रिय बेलनु महाेत्सव हुने
  • प्रमुख खबर

पाेखरा ।।
पर्यटनको राजधानी पाेखरामा बि वाइ डि अन्तर्राष्ट्रिय बेलनु महाेत्सव हुने भएको छ । पोखराको पामे क्षेत्रमा यही पुस ९ देखि १७ गतेसम्म उक्त महोत्सव हुने भएको हाे ।

विशेषगरी यस सुन्दर नगरी पाेखरालाई साहसिक खेलकुदकाे माध्यमबाट पर्यटन प्रबर्द्धन गर्ने उद्वेश्य सहित पाेखरा पर्यटन परिषद् र बेलुन नेपाल प्रा.लि.काे संयुक्त अायाेजनामा याे महाेत्सव हुन लागेको हाे ।

क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षकाे अवसर पारेर हुने यस महोत्सवले आन्तरिक मात्र नभई वाह्य पर्यटकलाई पनि आकर्षित गरी पोखरा मात्र नभई समग्र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्न सहयाेग पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताएका छन् ।

यस महाेत्सव अवधिभर विभिन्न सांस्कृतक कार्यक्रमहरुका साथै पोखराका स्थानीय सांगीतिक ब्यान्ड र दीपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मंगोलियन हार्ट, एलिना चौहान, कुमा सागर एण्ड ख्वपः ब्यान्ड जस्ता नेपाली कलाकारको सांगीतिक प्रस्तुति पनि रहने उनले बताए ।

नाै दिनसम्म सञ्चालन हुने यस महाेत्सवमा अमेरिका, स्पेन, जापान, दक्षिण कोरिया, बेलायत, मलेसिया, लिथुआनिया, थाइल्यान्ड, भियतनामलगायत २० भन्दा बढी देशको सहभागिता रहने बेलुन नेपाल प्रा.लि. का प्रबन्ध निर्देशक सविन महर्जनले जानकारी दिएका छन् ।

त्यस्तै महोत्सवमा १५ देशका पाइलट पनि सहभागि हुने र एकै पटकमा २० वटासम्म बेलुनहरु पाेखराकाे अाकाशमा उड्ने उनले बताएका छन् ।

साे हट एयर बेलुनमा एकपटकमा ८ जनासम्म पर्यटक उड्न सक्नेछन् । बेलुन उडान महोत्सव अवधिमा बिहान ६ देखि ९ बजे र बेलुकी ४ देखि ६ बजेसम्म हुनेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जमिनको सतहदेखि ५ हजारफिट उचाइसम्म बेलुन उड्न पाउनेगरि सीमा तोकिदिएको छ ।

पाेखराकाे अाकाशमा बेलुनको उचाईबाट उत्तरतर्फको हिमाली श्रृंखला, पोखरा शहर, फेवाताल सहितका यहाँका प्राकृतिक साैन्दर्य समेत अवलोकन गर्न पाइने अायाेजकले जनाएको छ ।

सुरक्षाकाे लागि महाेत्सव अवधिभर पामेको आकाशमा नोटाम (नोटिस टु एयर म्यान) जारि गरिएको पोखरा विमानस्थलका प्रबन्धक योगेन्द्र कुँवरले बताएका छन्।

वि.सं २०७३ सालमा स्थापना भएको बेलुन नेपाल प्रा.लि.ले २०७५ सालदेखि पोखरामा हट एयर बेलुनको व्यावसायिक उडान गर्दै आएको छ ।

कम्पनीले गत वर्ष फेब्रुअरीमा थाइल्याण्डमा सम्पन्न ‘इन्टरनेशनल बलुन फियस्ता, २०२४’ मा सहभागिता जनाइसकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्