पोखरा ।।
नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्व प्रधानमन्त्री सन्त नेता किष्णप्रसाद भट्टराई (किसुनजी)को १०१ औं जन्मजयन्तीको अवसरमा साेमबार विचार गोष्ठी सम्पन्न भएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेशको आयोजनामा भएको गोष्ठीमा पूर्व मन्त्री दिपकुमार उपाध्यायले पानसमा बत्ति वालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री उपाध्यायले किसुनजीको जीवनीको बारेमा व्याख्या गरेका थिए ।
आध्यात्मिक व्यक्ति समेत रहेका किसुन जीमा स्वार्थको भाव नरहेको र आफू हारेर पनि पार्टी र देशको फाइदाको लागि सधै लडेको जानकारी गराएका थिए ।
राजनीतिमा हार र जीतले कुनै प्रभाव नपार्ने बताउँदै जीत र हार भन्दा माथी आफूलाई राख्नुपर्ने कथ्य सिकाएको बताए ।
अहिलेको राजनीति अनैतिकता छलछाम, स्वार्थमा वगेको देखिएको बताउदै डन र धनको संस्कृति मौलाएर गम्भिर रोगको शिकार बन्न पुगेको छ । उनले भने, ‘अब रोगलाग्यो यसलाई सर्जरी नै गर्नुपर्ने अवस्था आएको छ, अरुलाई दोष दिने होइन सत्यको खोजी गरेर असत्यलाई चिर्ने प्रयास गरिएन भने पार्टी खतराको अवस्थामा आइपुगेको छ ।’
उनले भने, ‘किसुन जी भन्नुहुन्थ्यो सत्ता प्राप्ती मेरो रुची होइन मोक्ष नै मेरो लक्ष्य हो, चरित्रमा इमान्दारिता भयो भने सबै झुक्नुपर्छ ।
किसुनजीले अबसर आएपछि अन्तरिम संविधान र निर्वाचन समयमानै काम गरेर साहस देखाउनुभएको, आर्थिक पारदर्शिता देखाउनुभएको, भाषणमा नभई व्यवहारमा देखाएका कामहरुले उहाँलाई सदा अमर राखेको छ ।’
त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले किसुनजी लगायतका नेताहरुको त्याग तपस्याका उहाँहरु आजपनि आदर्श पुरुष कहलिएको बताए ।
सभापति शर्माले राज्यको जिम्मेवारि पदमा हुदाँ वा नहुँदा पनि आफुलाई नचुकाएको आदर्श पुरुष रहेको बताउँदै वीपीलाई समेत किसुनजीले आफूलाई लागेको कुरा राखेर आफूतर्फ आकर्षण गराएका तथ्यहरु रहेको जानकारी गराए ।
प्रजातन्त्र स्थापनाका लागि कृष्णप्रसाद भट्टराईले १८ वर्ष जेल जीवन बिताएको र सदैव नेपाली जनताको जीवनस्तर उकास्न चिन्तित रहने गरेको बताए ।
किसुनजी जस्तो नेता संसारमा बिरलै मात्र पाउन सकिन्छ भन्दै गिरिजाबाबु, गणेशमान, सुबर्ण शमशेर सहित नेताहरुलाई मिलाएर कांग्रेसलाइ बलियो बनाउन किसुनजीको योगदान महत्वपुर्ण रहेको सभापति शर्माले बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले गण्डकी प्रदेशले गरेको गोष्ठीले किसुनजीको जीवनीलाई कार्यकर्ता माझ पुर्याउन महत्वपूर्ण योगदान दिएको उल्लेख गरेका थिए ।
भट्टराईले कांग्रेस भित्रबाट गिरिजाबाबु र किसुनजीको बिचमा द्वन्द बढाउन खोज्ने केहि नेताहरु समेत रहेको बताउँदै आफु किसुनजीको प्रेरणाबाट राजनीतिमा सक्रिय बनेको समेत स्पष्ट पारे।
उनले घर परिवारको माया मोह र सबै दवाब र प्रभावबाट मुक्त भएर देश र जनताको लागि सदैब क्रियाशील रहने प्रेरणा किसुनजी बाट नै मिल्ने भएकोले कांग्रेसजनले किसुनजीको इतिहास पढ्नुपर्नेमा जोड दिए।