पोखरा ।।
पर्यटनको राजधानी पाेखरामा बि वाइ डि अन्तर्राष्ट्रिय बेलनु महाेत्सव मङ्गलबारबाट पोखरामा सुरु भएको छ । पोखराको पामे क्षेत्रमा यही पुस ९ देखि १७ गतेसम्म उक्त महोत्सव चल्ने छ ।
विशेषगरी यस सुन्दर नगरी पाेखरालाई साहसिक खेलकुदकाे माध्यमबाट पर्यटन प्रबर्द्धन गर्ने उद्वेश्य सहित पाेखरा पर्यटन परिषद् र बेलुन नेपाल प्रा.लि.काे संयुक्त आयाेजनामा याे महाेत्सव भएको पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।
क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षकाे अवसर पारेर आयाेजना भएको यस महोत्सवले आन्तरिक मात्र नभई वाह्य पर्यटकलाई पनि आकर्षित गरी पोखरा मात्र नभई समग्र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्न सहयाेग पुग्ने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।
पर्यटकलाई डुङ्गा खियाएर मनोरञ्जन दिँदै आएको यस ठाउँमा पछिल्लाे समयमा भने क्रमिक रुपमा मनाेरञ्जनका लागि प्याराग्लाङिडिङ्ग, अल्टा फ्लाइट र हाल हट एयर बेलुनसम्म आइ पुगेको बताए।
त्यस्तै यस बेलुन नेपाल प्रा.लि.का ब्याण्ड एम्बासडर महानायक राजेश हमालले यस अन्तर्राष्ट्रिय महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकहरु पर्यटकिय नगरी पोखरामा आउनेमा आफू विस्वस्त रहेको बताए ।
यस महाेत्सव अवधिभर विभिन्न सांस्कृतक कार्यक्रमहरुका साथै पोखराका स्थानीय सांगीतिक ब्यान्ड र दीपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मंगोलियन हार्ट, एलिना चौहान, कुमा सागर एण्ड ख्वपः ब्यान्ड जस्ता नेपाली कलाकारको सांगीतिक प्रस्तुति पनि रहने आयाेजकले बताएको छ ।
नाै दिनसम्म सञ्चालन हुने यस महाेत्सवमा अमेरिका, स्पेन, जापान, दक्षिण कोरिया, बेलायत, मलेसिया, लिथुआनिया, थाइल्यान्ड, भियतनामलगायत २० भन्दा बढी देशको सहभागिता रहेकाे बेलुन नेपाल प्रा.लि. का प्रबन्ध निर्देशक सविन महर्जनले जानकारी दिएका छन् ।
त्यस्तै महोत्सवमा १५ देशका पाइलट पनि सहभागि भएको र उनीहरुले पाेखराकाे आकाशमा एकै पटकमा २० वटासम्म बेलुनहरु उडाउने पनि बताएकाे छ ।
साे हट एयर बेलुनमा एकपटकमा ८ जनासम्म पर्यटक उड्न सक्नेछन् । बेलुन उडान महोत्सव अवधि बिहान ६ देखि ९ बजे र बेलुकी ४ देखि ६ बजेसम्म हुनेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जमिनको सतहदेखि ५ हजारफिट उचाइसम्म बेलुन उड्न पाउनेगरि सीमा तोकिदिएको छ ।
पाेखराकाे आकाशमा बेलुनको उचाईबाट उत्तरतर्फको हिमाली श्रृंखला, पोखरा शहर, फेवाताल सहितका यहाँका प्राकृतिक साैन्दर्य समेत अवलोकन गर्न पाइने आयाेजकले जनाएको छ ।
सुरक्षाकाे लागि महाेत्सव अवधिभर पामेको आकाशमा नोटाम (नोटिस टु एयर म्यान) जारि गरिएको पोखरा विमानस्थलका प्रबन्धक योगेन्द्र कुँवरले बताएका छन्।
वि.सं २०७३ सालमा स्थापना भएको बेलुन नेपाल प्रा.लि.ले २०७५ सालदेखि पोखरामा हट एयर बेलुनको व्यावसायिक उडान गर्दै आएको छ ।
कम्पनीले गत वर्ष फेब्रुअरीमा थाइल्याण्डमा सम्पन्न ‘इन्टरनेशनल बलुन फियस्ता, २०२४’ मा सहभागिता जनाइसकेको छ ।