पत्रकार महासंघ गण्डकीको पदस्थापन
  • प्रमुख खबर

smart

पोखरा ।।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको नवनिर्वाचित कार्यसमितिको आइतबार पोखरामा शपथ ग्रहण तथा पदस्थापन समारोह सम्पन्न भएको छ ।

गत २८ मंसिरमा भएको निर्वाचनबाट रमेश पौडेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यमा भएको समारोहमा निर्वाचन समिति संयोजक प्रेस स्वतन्त्रता सेनानी कोमलनाथ बरालले शपथ ग्रहण गराएका थिए ।

आगामी ३ वर्षका लागि नवनिर्वाचित उपाध्यक्षमा प्रकाश पौडेल, उपाध्यक्ष (महिला) मायाकुमारी अधिकारी, महासचिव जमुना वर्षा शर्मा, सचिव भविश्वर पाण्डे, सचिव (समावेशी) रोशनी गुरुङ र कोषाध्यक्ष रमेश बस्ताकोटी छन् ।

खुला सदस्यमा विजय नेपाल, गणेश पहारी, जनक श्रेष्ठ, छविलाल पाण्डे, श्रीकृष्ण सिग्देल, ध्रुवराज सुवेदी र रोशन लामिछाने निर्वाचित भएका थिए ।

सदस्य (महिला) मा ज्योति हमाल, सपना अधिकारी र रञ्जिता शर्मा, सदस्य दलितमा विजय नेपाली, सदस्य (आदिवासी जनजाति) मा पदम श्रेष्ठ र मञ्जुल शाक्य छन् ।

अल्पसंख्यक सदस्यमा सुन्दरकुमार थकाली निर्विरोध भएका हुन् । समारोहमा मुख्यमन्त्री पाण्डेले नवनिर्वाचित कार्यसमितिको कार्यकालको सफलताको शुभकामना व्यक्त गरे ।

उनले संघीयता र प्रदेशका नाममा धेरै गाली खानु परेको गुनासो गरे । उनले प्रदेशमा पहिले अनुभव हासिल गरेकाहरू अहिले केन्द्रमा हुँदा पनि संघीयताको पक्षमा नबोलेकोमा आश्चर्य प्रकट गरे ।

उनले सामाजिक सञ्जाल र मिडिया छुट्टाछुट्टै हुन् भन्ने कुरा बुझाउँदै जानुपर्ने बताए । उनले आमसञ्चार विधेयक पारित भई प्रेस रजिस्ट्रार कार्यालय स्थापित भएको र पत्रकारको हकहितका लागि यो कार्यालय लागिपर्ने बताए ।

पत्रकारको बिमाको रकम बढाउँदै जाने उनले प्रतिबद्धता जनाए । पत्रकार महासंघमा संघीयता लागु नभएकोमा उनको थप चिन्ता थियो । ‘गण्डकीको समाचार अलि कम आएको छ । मैले राम्रो गरेको भए राम्रो लेख्नुस् । नराम्रो भए नराम्रो लेख्नोस् तर केही त केही लेख्नोस्,’ उनले पत्रकारलाई सुझाव दिए ।

नवनिर्वाचित अध्यक्ष रमेश पौडेलले निर्वाचनमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै यहाँ कसैले हारेको नभई जित नजिक पुगेको भनी बुझ्नुपर्ने बताए ।

उनले मूलधारका मिडिया बचाएर राख्नुपर्नेमा जोड दिँदै पत्रकारितालाई दिगो रूपमा बचाउन नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने बताए ।

महासंघ गण्डकीका निवर्तमान महासचिवसमेत रहेका अध्यक्षका प्रत्यासी गोविन्द सुवेदीले नवनिर्वाचित समितिलाई सफलताको शुभकामना दिँदै श्रमजीवी पत्रकारको हकहितमा सधैँ लागिपर्ने बताए ।

यसैबीच, नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पनि बसेको छ । अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा बसेको बैठकले अघिल्लो कार्यसमिति, निर्वाचन समितिसहित सम्पूर्णमा धन्यवादसहित आभार व्यक्त गरेको महासचिव जमुना वर्षा शर्माले बताइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्