काठमाडौं ।।
ललिता निवास जस्तै गरि नुवाकोटको शेरा दरबारकाे जग्गा सरकारको नाममा फिर्ता ल्याउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेकाे बैठकमा उनले साे कुरा बताएका हुन् ।
उक्त बैठकमा उनले सरकारले शेरा दरबार जग्गा प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न चाहेको खण्डमा सहयोग गर्न तयार रहेको पनि बताएका छन् । उनले सरकारले साे काम गर्न सकेकाे खण्डमा सरकारलाई धन्यवाद दिने समेत बताए ।
नुवाकोटको विदुर नगरपालिका–२ शेरा दरबार र त्यसले अाेकटेकाे १ सय ८४ रोपनी ४ आना १ पैसामध्ये १ सय ६४ रोपनी १३ आना २ दाम जग्गा हिनामिना भएको छ ।
साेही विषयलाई लिएर प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले उक्त जग्गा नेपाल सरकारकाे नाममा ल्याउन सरकारलाई पत्राचार गरेको थियो ।
त्यस्तै सीआईबीले सरकारकाे जग्गालाई गैरकानुनी रुपमा प्राइभेट कम्पनीमा सार्ने गिराेहमाथि कारबाही गर्न अख्तियारलाई पत्र समेत लेखिसकेको छ ।











