बागलुङका १४ वटा वडा बालमैत्री वडा घोषणा
  • प्रमुख खबर

बागलुङ ।।
बागलुङ नगरपालिकाका १४ वटा वडालाई बालमैत्री वडा घोषणा गरिएको छ ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिका ५१ सूचक पूरा गरेपछि त्यहाँका उक्त वडाहरुलाई बालमैत्री वडा घोषणा गरिएको हाे ।

यसका लागि नगरपालिकाले दुई वर्षयता सामाजिक विकास र बालमैत्री पूर्वाधारमा झण्डै तीन करोड लगानी गरिसकेको थियो ।

त्यस्तै नगरपालिकाले चालु आर्थिक वर्षमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा र कार्यक्रमका लागि मात्रै रु एक करोड २५ लाख बजेट विनियोजन गरेको छ ।

उक्त विनियोजित रकमबाट बालमैत्री विद्यालय भवन निर्माण, खानेपानी, शौचालय लगायतका पूर्वाधार निर्माण गरिएको छ ।

टोल–टोलमा बाल क्लब गठन गर्ने बालबालिकालाई सामाजिक कार्यक्रममा सहभागी गराउने, बालविवाह, बालश्रमकाे अन्त्य गर्ने लगायतका अभियान सम्पन्न भइसकेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार नगरपालिकाले गत आर्थिक वर्षमा समेत रु ४० लाख लागतमा नगरका सामुदायिक विद्यालयको शौचालय, खानेपानी तथा बालमैत्री पूर्वाधारमा खर्च गरिसकेको छ ।

यस्तै आगामी दिनमा निर्माण गरिने हरेक विकास निर्माणलाई समेत बालमैत्री तरिकाले निर्माण गर्ने नगर प्रमुख श्रेष्ठले बताएका छन् । यस अघि जिल्लाको गलकोट नगरपालिकालाई बालमैत्री घोषणा गरिएको थियो ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०७८, घोषणा कार्यविधि २०७९ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम बागलुङ नगरपालिकामा २०७९ जेठ ६ गतेदेखि बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने प्रतिबद्धतामा हस्ताक्षर गरी २०८१ साल पुस मसान्तभित्र बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने निर्णय अनुसार सबै वडा घोषणा गरिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्