पाेखरा ।।
१९ औं सफल पाेखरा अन्तर्राष्ट्रिय म्याराथन २०८१ काे तयारी सुरु भएको छ । यसै म्याराथन अन्तर्गतका साप्ताहिक/मासिक दौडका कार्यक्रम पनि आयाेजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले सार्वजनिक गरेको छ ।
वि.सं.२०५८ सालमा स्थापित मञ्चकाे आयाेजनामा प्रतेक वर्ष हुँदै आइरहेकाे यस म्याराथनकाे १९ औं संस्करणकाे तयारी सुरु भएको हाे भने यस कार्यक्रम अन्तर्गत पहिलाे पटक साप्ताहिक/मासिक दौडका कार्यक्रम पनि हुने भएको छ ।
मञ्चले मंगलबार पाेखरामा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै साे कुराकाे जानकारी दिएकाे हाे । मञ्चले यस पटककाे नारा “पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानका लागि दौडौं” तय गरेकाे छ ।
यस्तै मञ्चले पोखरालाई दौड संस्कृतिको विकास गरि स्वस्थ्य र मानसिक रुपमा नागरिकलाई सचेतना जगाउन नयाँ योजना सहितका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
जस अन्तर्गत पोखरा महानगरपालिकाकाे आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा “स्वच्छ पाेखरा स्वास्थ पाेखरेली” काे नारालाई आत्मसाथ गर्दै सुरु गरिएको यस दाैड कार्यक्रम अन्तर्गत पहिलाे पटक मासिक दाैड यही पाैष २७ गते हुँदैछ ।
यस अन्तर्गत ३ किमि र ५ किमि छात्र/ छात्रा दौड हुने भएको हाे । ३ किमि छात्र, छात्रा अन्तर्गत ८ देखि १२ वर्ष उमेर समूह अर्थात कक्षा ५ सम्म र ५ किमि अन्तर्गत १३ देखि १६ वर्ष उमेर समूह अर्थात कक्षा १० सम्मका बीचमा हुने भएको छ ।
मञ्चले ३ किमि तर्फ ८ वर्ष उमेरको प्रतियोगिताका लागि प्रतियोगिहरुलाई अभिभावकसहित उपस्थित हुनुपर्ने जनाएको छ ।
पाैष २७ मा हुने मासिक दौड ५ किमि पोखरा रंगशालाबाट सुरु भएर एसओएस गेट, कृष्ण मन्दिर चोक, इन्द्रमार्ग हुँदै पुनःरंगशालामा गएर सकिने छ । यसका लागि दर्ता खुल्ला गरिएको छ ।
दौडलाई प्रविधिमेत्री बनाउन चिप्सको प्रयोग गरिने भएको छ । पहिलो दर्तामा आउने छात्र/छात्रा १०० जनाले चिप्सको प्रयोग गर्न पाउनेछन् ।
दर्ताका लागि अन्तिम मिति पौष २६ गतेसम्म तोकिएको मञ्चले जनाएको छ । पाेखरा महानगरपालिकाका विभिन्न वडाहरुमा सञ्चालन हुने साे दाैड प्रतियोगितालाई निकट भविष्यमा साप्ताहिक(Park Run)दाैडकाे रुपमा आयाेजना गरिने मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले बताएका छन् ।
फागुन ३ गते शनिबार १९ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन
विश्व परिवेशमा चर्चित शहरकाे नाममा आयाेजना गरिने सिटि म्याराथनकाे अवधारणा अनुरुप नै यस सुन्दर पर्यटकीय नगरी पाेखरालाई पनि खेलकुदकाे विश्व मानचित्रमा स्थापित गराई खेलकुल पर्यटन प्रवद्वर्न गर्न “१९ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुने भएको छ ।
फागुन ३ गते उक्त म्याराथन हुने भएको छ । यस पटक याे प्रतियोगितालाई व्यवस्थित बनाउन २८ वटा उपसमितिले काम गरिरहेका छन् ।
यस म्याराथनमा १४ वटा विधा रहने आयाेजकले जनाएको छ । यसमा खुला म्याराथन ४२.१९५ किमि, गण्डकी प्रदेशस्तरिय खुला म्याराथन ४२.१९५ किमि, २१.०९७ किमि हाफ म्याराथन महलिा तथा पुरुष, महिला पुरुष १० किमि दौड, विद्यालय स्तरिय छात्र, छात्रा ५ किमि दौड, महिला पुरुष ह्वील चियर तथा दृष्टिबिहिन दौड, ५० वर्ष माथिकाका लागि ५ किमि भेट्रान्स महिला, पुरुष दौड हुने भएको छ । साथै वर्षका एक दिन दौडिनु पर्छ भन्ने सन्देश दिनका लागि रन फर फन समेत हुने भएको छ ।
गएका संस्करणहरुमा “पोखराका लागि स्वास्थ्यका लागि दौडौं, पोखरा रंगशाला निर्माणका लागि दौडौं लगायतका नाराहरु राख्दै आयाेजना हुँदै आएकाेमा यसपटक पोखरामा नियामित रुपमा अन्तराष्ट्रिय हवाई उडानका लागि नागरिकमा सचेतना जगाउन दवावको महशुस गरेर “पोखरामा नियमित अन्तराष्ट्रिय उडानका लागि दौडौं “भन्ने नारा राखिएको मञ्चका पूर्व अध्यक्ष तेज गुरुङले जानकारी दिएका छन् ।
पाेखराकाे समृद्धि, विकास र भविष्यसंग प्रत्यक्ष जाेडिएकाे यस विमानस्थल सञ्चालन हुन अति आवश्यक रहेकाे बताउँदै मञ्चले यस वर्ष साे नारा तय गरिएको गुरुङले बताए । यस वर्षकाे म्याराथन १४ वटा क्याटाेगरीहरु समावेश छन् ।
जस अन्तर्गत खुला म्याराथन ४२.१९५ किमि, गण्डकी प्रदेशस्तरीय खुला म्याराथन ४२.१९५ दाैड, २१.०९७ किमि हाफ म्याथन महिला/पुरुष दाैड, महिला/पुरुष १० किमि दाैड, विद्यालयस्तरिय छात्र/छात्रा ५ किमि दाैड, महिला/पुरुष व्हील चियर तथा दृष्टिविहिन महिला/पुरुष दाैड, ५० वर्ष भन्दा माथि ५ किमि भेट्रान्स महिला/ पुरुष दाैड हुनेछन् ।
यस्तै वर्षकाे एक दिन दाैडिन पर्छ भन्ने सन्देश दिन “Run For Fun” हुने पनि जनाएको छ । यस प्रतियाेगितामा खुल्ला ४२.१९५ किमि म्याराथनका विजेताले नगद ५ लाख प्राप्त गर्नेछन् भने द्वितियले ३ लाख, तृतियले २ लाख र चौथोदेखि ८ जनासम्मले ३० देखि १० हजार नगद पुरस्कार पाउनेछन् ।
खुल्ला ४२.१९५ म्याराथन गण्डकीतर्फ प्रथम हुनेले ५० हजार दोश्रोले ३० हजार र तेश्रोले २० हजार पाउनेछन् । चौथोदेखि ८ औं सम्मकाले १५ हजारदेखि ४ हजार नगद पाउनेछन् । महिलातर्फ हाफ म्याराथन, १० किमि पुरुष, महिला, ५ किमि छात्रा, छात्रा, ह्वीलचियर तथा दृष्टिबिहिन पुरस्कार राशीमा भने केही प्रतिशत रकम वृद्धि गरिएको छ ।
प्रतियोगिताका लागि पुरस्कारमा कुल २१ लाख ३४ हजार खर्च हुने मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिएका छन् । उनका अनुसार १९ औं संस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथन सम्पन्न गर्नकाे लागि भने कुल १ करोड ८९ हजार खर्च हुने अनुमान गरिएको छ ।
नेपालमा आयाेजना हुने विभिन्न म्याराथनहरु मध्य पाेखरा अन्तर्राष्ट्रिय म्याराथन म्याराथनहरुकाे अन्तर्राष्ट्रिय छाता संस्था एम्समा दर्ता रहेकाे छ । यस म्याराथनकाे रुट समेत एम्सबाट प्रमाणिकरण भइसकेकाे छ । यसका साथै यस प्रतियोगितालाई गण्डकी प्रदेश सरकार र पाेखरा महानगरपालिकाले संरक्षकत्व प्रदान पनि गरेकाे छ ।