माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबलका विजेतालाई २ लाख पुरस्कार
  • प्रमुख खबर

पाेखरा ।।

तेस्रो संस्करणको अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

कास्कीको माछापुच्छे गाउँपालिका र गाउँपालिका खेलकुद विकास समितिको संयुक्त रुपमा उक्त प्रतियाेगिता आयोजनामा हुने भएको हाे ।

खेलकुदमा युवाहरुलाई आकर्षित गर्न र खेलकुदकै माध्यमबाट पालिकालाई चिनाउने उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न लागेकाे माछापुच्छे गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङ जानकारी दिएका छन् ।

प्रतियाेगिता फागुन १४ देखि १७ गतेसम्म माछापुच्छ्रे–७, धम्पुसमा हुने भएको छ । साे भलिबल प्रतियाेगिताकाे पुरुषतर्फ विजेतालाई उपाधिसंगै नगद रु २ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु १ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै सेमिफाइनलमा पराजित २ समुहलाई प्राेत्सहान स्वरुप नगद रु ५०/५० हजार रुपैयाँ प्रदान गरिनेछ । पुरुष भलिबलतर्फकाे खेलमा पालिका बाहिरका जुनसुकै तह वा स्तरका २ जना खेलाडी समावेश गर्न सकिने अायाेजकले जनाएको छ ।

यस्तै खुल्ला महिला भलिबल तर्फकाे विजेतालाई उपाधिसँगै नगद रु १ लाख र उपविजेतालाई नगद रु ५० हजारकाे साथमा ट्रफी,मेडल र प्रमाणपत्र दिइनेछ ।

महिलातर्फ समेत सेमिफाइनलमा पराजित २ समुहलाई प्राेत्सहान स्वरुप नगद रु २५/२५ हजार रुपैयाँ प्रदान गरिने छ । महिला भलिबलतर्फ समेत एक समुहमा २ जनासम्म राष्ट्रिय खेलाडी समावेश गराउन पाइनेछ ।

त्यस्तै दुवै पुरुष तथा महिला भलिबल प्रतियोगिताको विधागततर्फ बेस्ट प्लेयर, कोच, स्पाईकर, मिडल ब्लकर, डिफेन्डर,सर्भरलाई पालिकाको लोगो अङ्कित खेलकुद पोषाक प्रदान गरिने उपाध्यक्ष सिता अधिकारीले जानकारी दिएकी छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्