पाेखरा ।।
कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरण मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने धराैटीमा रिहा भएका छन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले विहिबार उनलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएकाे हाे ।
यहाँको अदालतले उनलाई धराैटीमा छाड्न अादेश दिएपनि उनी रिहा हुने अवस्था भने छैन । काठ्माण्डाैंकाे स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा समेत त्यहाँको जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दर्ता भएको छ ।
त्यस्तै यता, छविलाल जोशीलाई पनि धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । उनीसँग भने ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
यस्तै लिला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख, कृष्ण गुरुङसँग १ लाख, मिना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग गरिएको छ ।
न्यायाधीश राईको इजलासमा गत पुष १६ गतेदेखि उक्त मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस चलेको थियो । साे मुद्दाको बहस अाज सकिएकाे हाे ।
लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतमाथि थुनछेक बहस भएको थियाे ।
लामिछाने सहित ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित पुस ५ गते थप र ७ गते पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनमा ३ करोड ३७ लाख ६५ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियाे ।
यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ रकम बिगो दाबी गरिएको थियाे ।
लामिछानेसहित पूर्वडिआइजी समेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, रविको सहयोगी लिला पछाईं, गण्डकी प्रदेशका पूर्व सांसद तथा सूर्यदर्शनका संस्थापक उपाध्यक्ष मीना गुरुङ, संस्थापक सदस्य मीना गुरुङका बुबा कृष्णबहादुर र पूर्वकोषाध्यक्ष आरती गुरुङ पनि प्रतिवादी छन् ।