संगीतबिना पर्यटन अधुरो
  • प्रमुख खबर

पोखरा ।।

राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको आयोजनामा संगीत र पर्यटन विषयक गोष्ठी सम्पन्न भएको छ ।

नेपालको पहिलो होम स्टे सिरुबारीमा शुक्रबार भएको उक्त गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले संगीतबिना पर्यटन अधुरो हुने बताए ।

उनले भने, ‘हामीले जानेको ज्ञान, विद्या अरुलाई बाँड्नुपर्छ । संगीतामार्फत पर्यटनको विकासमा अघि बढ्नुपर्छ ।’ संविधानसभा सदस्य समेत रहेका उनले गाउँ विकासका लागि सधैं दत्तचित्त रहेको बताउँदै बिदा उनेवित्तिकै सिरुबारी आउने गरेको उल्लेख गरे ।

संस्कृतिविद् प्राडा कुसुमाकर न्यौपानेले संगीतमा निकै ठूलो शक्ति रहेको बताए । संगीत र पर्यटनबारे गोष्ठीपत्र प्रस्तुत गर्दै उनले मन र मस्तिष्क दुवैलाई धक्का दिन सक्ने संगीतले मानवमात्र नभई पशुपंक्षीलाई पनि मन्त्रमुग्ध बनाउने बताए ।

उनले संगीतको माध्यमबाट पर्यटन प्रवद्र्धनमा उल्लेख्य टेवा मिल्दै आएको उनको भनाइ थियो । रेडियो नेपाल प्रादेशिक केन्द्र पोखराका प्रमुख शान्ति गुरुङले संगीत जति बुझ्यो त्यति गहिरो रहेको बताइन् ।

राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय महासचिव विनोद ढकालले हाल देशभर संघका ६२ जिल्लामा शाखा संचालित रहेको बताए ।

कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ, संस्कृतिकर्मी प्राडा कुसुमाकर न्यौपाने, संघका महासचिव विनोद ढकाल, केन्द्रीय सदस्य शंकर ढकाल, संघका स्याङ्जा प्रमुख सल्लाहकार मुक्तिप्रसाद रेग्मीलाई सम्मान पनि गरिएको थियो ।

राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशक अध्यक्ष रामचन्द्र ढकालले संस्थाका गतिविधिबारे प्रकाश पारे । अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका द्वितीय उपाध्यक्ष सागर कार्की र संचालन महासचिव बालकृष्ण शर्माले गरेका थिए ।

कलाकारको हकहितमा काम गर्दै आएको संघको विदेशमा पनि शाखा बिस्तार छ । बेलायत, अमेरिका, जापान, दुवई, भारत लगायत राष्ट्र«मा पनि शाखा बिस्तार गरेको संघका महासचिव ढकालले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्