साहसिक खेलका लागि परिचित पाेखरामा स्काई डाइभिङ पनि शुरु
  • प्रमुख खबर

पाेखरा ।।

पाेखरा मनमाेहक हिमालयको काखमा अवस्थित सुन्दर शहरकाे रूपमा परिचित छ । याे प्राकृतिक सौन्दर्य र साहसिक गन्तव्यकाे शहर पनि हाे ।

नेपालकै आकर्षक पर्यटकीय गन्तव्यको रूपमा परिचित याे शहरले पछिल्लो समय साहसिक खेलको रूपमा पनि उचाइ लिँदैछ ।

प्याराग्लाइडिङ, अल्ट्रालाइट, हटएयर बेलुन, क्यानोनिङ, जीप फ्लाएर, बन्जीजम्प, र्‍याफ्टिङ, कायाकी बोटिङ जस्ता साहसिक खेलको उत्कृष्ट गन्तव्य पाेखरा बन्दै छ । यस्तै साहसिक खेलका लागि परिचित याे शहरमा स्काई डाइभिङ पनि शुरु भएको छ ।

पोखराकाे अाकाशमा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ शुरु गरेका हुन् । विभिन्न मुलुकमा स्काई डाइभिङमा काम गरि अनुभव लिइ सकेका युवाहरूले स्काई डाइभिङ थालेका हुन् ।

यसअघि विदेशी प्रशिक्षकले मात्र डाइभिङ गराउँदै आएकाेमा यस पटक नेपाली टोलीले मात्रै स्काई डाइभिङ गराएका हुन् ।

सिम्रिक एयर र इन स्काई डाइभ कम्पनीले पोखरामा स्काई डाइभिङ शुरु गरेकाे हाे । जनवरी १० (शुक्रबार)देखि २१ जनवरीसम्म स्काई डाइभिङ हुने इन स्काई डाइभ कम्पनीका सञ्चाल तथा प्रशिक्षक एलिश थापाले जानकारी दिएका छन् ।

यसअवधिमा स्काई डाइभिङ गर्नका लागि कम्पनीले भिआइपी र डिलक्स गरी दुइवटा प्याकेज बनाएको छ । भिआइपीको १ लाख १५ हजार रूपैयाँ र डिलक्सको ९५ हजार रूपैयाँ पर्ने उनले बताएका छन् ।

स्काई डाइभका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाई १५ दिनको अनुमति दिएको छ ।

पोखरा विमानस्थलबाट हेलिकप्टर उडान गरी पोखरा २३ लौरुकको १३ हजार फिट आकाशबाट नेपाली प्रशिक्षकहरूले शुक्रबार स्काई डाइभ गरेका छन् ।

थापाका अनुसार अाफुहरुले अहिले सञ्चालन गरेकाे कार्यक्रम पछि यात्रुहरुकाे माग अाएका कम्पनीले नियमित रुपमा स्काई डाइभिङ गराउने योजना बनाएको बताएका छन् ।

उक्त स्काई डाइभिङका लागि कम्पनीका सञ्चालक थापालाई अन्य नेपाली प्रशिक्षकहरु सुवास थापा, मनिष हिराचन, आशिष थापा र नेपालको पहिलो महिला स्काइ डाइभर यसोदा के.सी.ले साथ दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्