रवि लामिछानेलाई थुनछेक बहसका लागि अदालत उपस्थित गराइयो
  • प्रमुख खबर

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज प्रहरीले अदालतमा उपस्थित गराएको छ । थुनछेक बहसको लागी प्रहरीले उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको हो । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेविरुद्ध पनि मुद्दा दर्ता भएको छ । उक्त मुद्दाको बयानका लागि लामिछाने आइतबार काठमाडौँ जिल्ला अदालत हाजिर भएका थिए ।

सो दिन बयान नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले आइतबार हिरासत पठाउने आदेश दिएका थिए । सोमबार पनि थुनछेक बहस भएको थियो सो दिन रवि पक्षका वकिलहरूले बाहिरै राखेर अनुसन्धान गर्न अनुरोध गरेका थिए । तर, न्यायाधीश अधिकारीले आइतबारको आदेशलाई नै निरन्तरता दिँदै बुधबारबाट फेरि निरन्तर सुनुवाइ हुने बताएका थिए । पूर्वगृहमन्त्री लामिछानेलाई भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।

गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रवि विरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरिएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर लामिछाने गत बिहीबार रिहा भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्