एनसेल पाँचौँ टाइगर कप भलिबलकाे तयारी सुरु

विभागीयबाहेकका टोलीमा विदेशी खेलाडी, अनलाइनबाट टिकट काट्ने व्यवस्था

  • प्रमुख खबर

पोखरा ।।
एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताकाे तयारी सुरु भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने यस प्रतियोगिता माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालामा हुँदैछ ।

पाँचौ संस्करणसम्म अाइपुग्दा प्रतियोगितामा दुई विदेशीसहित ६—६ टोली सहभागी हुने भएका छन् ।

विदेशी टोलीको रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ श्रीलंकन आर्मी भलिबल टिम सहभागी हुने छन् ।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले सहभागिता जनाउने छन् ।

महिलातर्फ सहभागी हुने टोलीमा नेपाल एपीएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् ।

यसपाली आयोजकले छुट्टै महिला टिम सहभागी बनाएको छ । पुरुषतर्फ गण्डकी र महिलातर्फ आयोजक टोलीमा ३—३ विदेशी खेलाडी समावेश गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विभागीयबाहेक अन्य टोलीले पनि विदेशी खेलाडीलाई अनुबन्ध गर्ने भएकाले प्रतियोगिता झनै रोमाञ्चक हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिएका छन् ।

प्रतियोगिताको फरम्याट समेत नयाँ र रोमाञ्चक खालको बनाउन लागिएको संयोजक ज्ञवालीले बताए । यस पाँचौं संस्करणमा पुरुष र महिला दुवैतर्फको विजेताले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

यस्तै उप-विजेतालाई समान २ लाख ८५ हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । तृतीय हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने प्रतियोगिता संयोजक ज्ञवालीले जानकारी दिए ।

प्रतियोगितालाई डिजिटल प्रविधिमैत्री बनाउँदै एलईडी स्क्रिन डिजिटल बोर्डको व्यवस्था गरिएको ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।

प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरकै बनाउने प्रयास भइरहेको उनको भनाइ छ । प्रतियोगिताका खेलहरु एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

प्रतियोगिता पाचौं संस्करणसम्म आईपुग्दा विदेशी टिमहरुले भाग लिनु नेपाली भलिबल प्रेमीका लागि सुखद भएको अध्यक्ष शर्माले बताए ।

प्रतियोगिताबाट बचत भएको रकम विगतमा जस्तै स्वास्थ्य, खेलकुद, शिक्षा, सामाजिक क्षेत्रमा खर्च गर्ने आयोजकको तयारी छ ।

प्रतियोगिताका लागि प्यारापिट, कोर्ट बनाउने काम भइरहेको अध्यक्ष शर्माले बताए ।
२ हजार सिट क्षमताको प्यारापिट हुने
पाँचौँ टाइगर कप भलिबलमा दर्शक क्षमता बढाएर २ हजार पु¥याएको छ ।

यसअघि दर्शकको चाप धेरै हुने गरेकाले यसपालि दर्शक क्षमता बढाइएको प्रतियोगिताको संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।

अघिल्ला संरकणमा दर्शकको चापलाई मध्यनजर गर्दै दर्शक क्षमता बढाइएको उनको भनाइ छ । यस संस्करणमा अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरिएको छ ।

खेल हेर्नका लागि इसेवामार्फत अनलाइनबाट काट्न सकिनेछ । ‘यसपाली अनलाइनबाटै टिकट काट्ने व्यवस्था गरेका छौं । यदि काटेर पनि सिट नहुने स्थिति नबनोस् भनेर अनलाइनबाट टिकट काट्नेका लागि छुट्टै सिटको व्यवस्था गरिएको छ,’ उनले भने ।

प्रतियोगितामा टिकट काटी प्रवेश गर्ने दर्शकमध्येबाट गोलाप्रथाबाट एकजनालाई एउटा टिसर्ट र फाइलनमा एकजनालाई एउटा सामसुङ मोबाइल प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्