३३ औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव’ माघ १० गतेदेखि
  • प्रमुख खबर

पाेखरा ।।

३३ औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव’ हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा माघ १० गतेदेखि उक्त मेला सुरु हुने भएको हाे ।

संघले मंगलबार पाेखरामा पत्रकार सम्मेलनकाे अायाेजना गर्दै साे कुराकाे जानकारी दिएकाे हाे । यस पटक मेलामा १२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोबाइल एक्सपो २०२५ पनि समाहित गरिएकाे छ ।

यसपटकको मेलालाई पृथक एंव चलायमान अर्थतन्त्रको आधारशिला र नवप्रवर्तनकाे केन्द्र बनाउने लक्ष्य लिएको संघका अध्यक्ष तथा महोत्सव कार्यसम्पादन समिति संयोजक गोकर्ण कार्कीले जानकारी दिएका छन् ।

विशेषगरी सम्पूर्ण राष्ट्रकाे औद्योगिक, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवर्द्धन गर्न र यसकाे बजारीकरणमा समेत सघाउ पुर्‍याउने गरी मेला अायाेजना गरिने उनले बताएका छन् ।

अध्यक्ष कार्कीका अनुसार लगानीकाे समवर्द्धन:उद्योग व्यवसायकाे प्रवर्द्धन भन्ने नारा अनुरुप अायाेजना हुने यस मेलामा सहकार्यकाे नयाँ अध्यायकाे सुरुवात गर्दै अन्य प्रदेशका निजि क्षेत्रले अबलम्बन गरेका असल अभ्यासलाई प्रर्दशन गर्दै साे क्षेत्रकाे लगानी गण्डकी प्रदेशमा अाकर्षित गर्ने लक्षय समेत लिइएको बताए ।

यसका लागि नेपालकाे सातै प्रदेशकाे पहिचान बाेकेका अाैद्याेगिक उत्पादन, संस्कृति एंव माैलिक रैथाने परिकारलाई समेत यस मेलामा समावेश गरिने भएको छ ।

त्यस्तै यस महोत्सवमा सूचना प्रविधिका क्षेत्रमा पछिल्लो समय आएका नयाँ आविष्कारहरू, कृत्रिम बुद्धिमत्ता (एआई), उन्नत सीसीटीभी प्रविधि, सफ्टवेयर निर्माण र बजारबारे जानकारी गराइनेछ ।

चौथो मोबाइल एक्सपोअन्तर्गत ५० प्रतिशतसम्म छुटमा माबवाइल खरिद, एक्सचेञ्ज अफर, किस्तामा खरिद सुविधा, र हरेक दिन ५ वटा डोर प्राइज उपलब्ध गराइनेछ ।

अध्यक्ष कार्कीले गण्डकी प्रदेशसँगकाे समन्वयमा अायाेजना हुने यस मेलाले गण्डकी प्रदेश सरकारले अगाडि सारेकाे दाेस्राे पञ्चवर्षीय याेजनामार्फत “अात्मनिर्भर र समुन्नत प्रदेश: सुखी प्रदेशबासी”काे लक्ष्य प्राप्तिमा समर्पित रहने पनि जनाए ।

तपाईको प्रतिक्रिया दिनुहोस्