पाेखरा ।।
पोखरा महानगरपालिकामा लागेको ताला खुलेको छ ।
कांग्रेसका जनप्रतिनिधिसँग सहमति भएपछि महानगरपालिकामा लागेको ताला खुलेको हाे ।
गणपुरक संख्या पुग्दापनि नगर सभा स्थगित गरेको विरोधमा कांग्रेसले महानगरमा लगाएको ताला मंगलबार सहमति भएपछि खुलेको हो ।
नगर सभालाई एमालेका जनप्रतिनिधिहरुले बहिस्कार गरेपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगर सभा स्थगित गरेका थिए ।
साेही कारण कांग्रेसका जनप्रतिनिधिहरुले महानगरका मेयर र उप-मेयरकाे कार्यालयसँगै प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंको कार्यकक्षमा ताला लगाएको थियो ।
तर कांग्रेस जनप्रतिनिधि र मेयर आचार्य, उपमेयर गुरुङ र प्रमुख प्रशासकीय अधिकृत चौलागाईंसहितको टोलीसँग कांग्रेस जनप्रतिनिधिको टोलीले गरेको वार्तामा ३ बुँदे सहमति भएपछि ताला खुलेकाे हाे ।
त्यस्तै, चालु १६ औं नगर सभा माघ ११ गते बोलाउने सहमति समेत भएको छ । उक्त सहमति अनुसार आगामी शुक्रबार दिउँसो १ बजे नगर सभाकाे बैठक बोलाउने निर्णय भएको पोखरा महानगरपालिका संसदीय दलका नेता दीवसमान प्रधानाङ्गले जानकारी दिएका छन् ।
गणपुरक संख्या भन्दा १५२ जना बढीले हस्ताक्षर गर्दा समेत नगर सभा बिना कारण स्थगित गरिएको थियो ।
त्यस्तै विशेष नगर सभामार्फत पारित ७ बुँदे सहमति अक्षरश पालना गर्नेपनि सहमति भएको छ ।
यसअघि नगरसभाले पारित गरेको सो सहमति कार्यान्वयन नभएको भन्दै मेयर आचार्यसँग कांग्रेस असन्तुष्ट भएको थियो ।
तर सहमतिपछि सबैले महानगरको सुशासन र समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारी एकजुट भएर अगाडि बढ्ने सहमति भएको सहमति पत्रमा उल्लेख गरिएको छ