विन्ध्यवासिनी माविमा संघीय शिक्षा ऐन सम्बन्धी छलफल

शिक्षकलाई निजामती कर्मचारी सरह बनाउनु पर्छः सभापति थापा

  • प्रमुख खबर

पोखरा ।।

संघीय शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशका विभिन्न भागमा पुगी संघीय शिक्षा ऐन सम्बन्धी छलफल तथा अन्तरक्रिया गरेको छ ।

विधेयक निर्माणका लागी समितिले पोखरामा पनि सरोकारवालासँग छलफल गरी सुझाव संकलन गरेर फर्किएको हो । समितिले पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविमा पुगी विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीसँग ऐनका विषयमा छलफल गर्यो । सामुदायिक विद्यालय तर्फ नेपालकै उत्कृष्ट पहिलो बन्न सफल सो विद्यालयमा छलफलका क्रममा समितिका सभापति अमर बहादुर थापाले विद्यार्थीलाई आर्कषक र गुणस्तरीय शिक्षा प्रदान गर्ने विषय विधेयकमा समावेश गर्न आफुहरुले सरोकावालासँग छलफल गरेको बताए । उहाँले छलफलका क्रममा आएका राम्रा सुझावलाई विधेयकमा समावेश गरी संसदले कानुन निर्माण गर्ने स्पष्ट पारे ।

सभापति थापाले देशभरका १५ देखि २० प्रतिशत सामुदायिक विद्यालय मात्र अव्वल रहेको वताउदै, बाँकी विद्यालयमा गहन सुधार आवस्यक रहेको दावी गरे । उनले भने– “प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति जिममेवार र असल भएका तथा जहाँ राजनितीकरण र दलिय स्वार्थ छैन ति विद्यालय अव्वल छन् ।” थापाले निजी विद्यालयलाई विस्थापित गरी सामुदायिक विद्यालयलाई सक्षम बनाउन सके मात्र पनि देशमा २५ प्रतिशत भष्ट्राचार घट्ने जिकिर गरे । एक अर्को प्रसगंमा सभापति थापाले नागरिकलाई असल वनाउन शिक्षक असल वनाउनुपर्ने वताउँदै, शिक्षकलाई निजामती कर्मचारी सरहको सेवा सुविधा राज्यले दिनुपर्नेमा जोड दिए ।

छलफलका क्रममा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले सरोकावालावाट आएका राम्रा सुझाव विधेयकमा समावेश गरिने प्रतिबद्घता जनाउनु भयो । विन्ध्यवासिनी माविका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले सुझाव संकलनका लागी समितिले आफ्नो विद्यालय रोजेकोमा आभार व्यक्त गर्दै, विद्यालयले गरेका असल अभ्यासको विषयमा जानकारी दिए । शिक्षक अभिभावक संघका अध्यक्ष भीम प्रसाद पौडेलले विद्यमान शिक्षा ऐन संसोधन गरी, सरोकारवालाका सुझावलाई समावेश गरी  पुर्ण रुपमा कार्यान्वयन गर्न सके मात्र सामुदायिक विद्यालयको शिक्षा उत्कृष्ट हुने बताए । छलफलमा  समितिका सचिव दशरथ धमला ,शिक्षा विकास निर्देशनालयका प्रमुख अम्बिका आचार्य, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका उपसचिव तोयानाथ लम्साल सहित समितिका अन्य सदस्यको पनि उपस्थिती रहेको थियो । शिक्षा विधेयक सम्बन्धी अन्तरक्रिया कार्यक्रमको सञ्चालन समितिका सचिव  दशरथ धमलाले र  स्वागत विद्यालयका सहायक प्रधानाध्यापक राम बहादुर बानियाँले गरेका थिए ।

उक्त कार्यक्रममा विद्यालय  व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका सदस्य, शिक्षक कर्मचारी,अभिभावक र तहगत विद्यार्थीका प्रतिनिधिको सहभागिता रहेका  थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्