पोखरा ।।
एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा आयोजक टोलीमा अनुबन्ध भएका ३ विदेशी खेलाडी पोखरा आइपुगेका छन् ।
थाइल्यान्डका जान्तिमा नोराथात, नान्तिकान टुनिपो र अम्फा सोमसुरात आयोजककाे टिमबाट यस टाइगर कप खेल्न बिहीबार साँझ पोखरा आइपुगेका हुन् ।
उनीहरुलाई स्वागत गर्न कप्तान अरुणा शाही, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, गण्डकी प्रदेश भलिबल प्रशिक्षक रमेश केसी सहितका टोली पोखरा विमानस्थल पुगेका थिए ।
आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले पहिलोपटक यस क्षेत्रबाट महिला टोली सहभागी बनाउन लागेको हो । आयोजक टोलीको नेतृत्व राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले गर्ने छिन् । टोलीको प्रशिक्षकको रुपमा अर्जुन घिमिरे रहनेछन् ।
टोलीमा तीन विदेशीसहित राष्ट्रिय यु—२० टोलीबाट खेलेका ४ खेलाडी समावेश छन् । गत साउनमा भएको काभा यू—२० महिला भलिबलमा नेपालको कप्तानी गरेकी मिना सुनारसहित निशा चौधरी, अनुषा चौधरी र आरती चौधरी टाइगर कपमा आयोजकको टोलीमा छन् ।
यसबाहेक गण्डकी प्रदेशबाट खेलिरहेका खेलाडी समेत टोलीमा समावेश गरिएको छ । माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने उक्त प्रतियोगितामा महिलातर्फ आयोजकसहित एक विदेशी गरी ६ टोलीले सहभागिता जनाउने छन् ।
आयोजकका अनुसार विभागीय टोलीबाहेक अन्य टोलीले पनि विदेशी खेलाडी समावेश गर्ने छन् । पुरुषतर्फ पनि एक विदेशीसहित ६ टोली सहभागीता रहने छन् ।