१४ औं अन्तर्राष्ट्रिय भेट्रान्स ‘एट ए साइड फुटबल’ माघ १५ बाट

तीन उमेर समूहमा ३९ टिम भिड्दै

  • प्रमुख खबर

पोखरा ।।
१४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता माघ १५ देखि २१ गतेसम्म हुने भएको छ ।
साे प्रतियोगिता बगर भाइखलकको आयोजनमा हुने भएको छ ।

बगर भाइखलकले आज पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियाेगिताबारे जानकारी दिएकाे हाे । प्रतियोगिता पोखराको टुडिखेल फुटबल मैदानमा हुनेछ ।

यस अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा विदेशी टिम सहित ३९ टिमको सहभागिता रहेको बगर भाइखलकका महासचिव मनकाजी गुरुङले जानकारी दिएका छन् ।

“स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम” भन्ने नारालाई आत्साथ गर्दै २०६८ सालदेखि भेट्रान्स फुटबल आयोजना गर्दै आएकाे महासचिव गुरुङले बताए ।

यस संस्थाले ४० वर्षदेखि ७० वर्ष उमेर समूहका पाका खेलाडीहरुको खेलबाट नयाँ पुस्तालाई खेलकुदप्रति अभिरुची जगाई भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्यसमेत राखेको उनले बताए ।

विशेषगरी ३ विधामा हुने अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा ४० वर्ष उमेर पूरा भएको विधामा १९ टिम, ५० वर्ष उमेर समूहतर्फ १४ टिम र ६० वर्ष उमेर पूरा भएका ६ समूहबीच प्रतिस्पर्धा हुने समते महासचिव गुरुङले बताए ।

उनका अनुसार ४० वर्ष उमेर समूहतर्फको विजेताले नगद २ लाख रुपैयाँ, उप-विजेताले नगद १ लाखसहित ट्रफी,मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् ।

सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीलाई नगद १५ हजार, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५/५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै ५० वर्ष उमेर समूहतर्फको विजेताले १ लाख र उपविजेताले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् ।

६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको तीनवटै विधाको हरेक खेलमा म्यान अफ दि म्याच घोषित खेलाडीले ट्रफी र प्रमाण-पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल,सिमरा,कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिमको सहभागिता रहेको छ ।

यस बगर भाइखलकले फुटबल खेल विकासमा विशेष योगदान दिने खेलाडीहरुलाई सम्मान समेत गर्दै आएको छ । यस वर्ष भने पूर्व खेलाडी रमेश भट्टचनलाई सम्मान गर्ने भएको छ ।

त्यस्तै १३ औं संस्करणको प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फ जोरपाटी भेट्रान्स काठमाडौं, ५० वर्ष उमेर समुहतर्फ संगम भेट्रान्स पोखरा र ६० वर्ष उमेर समूहतर्फ बगर भाइ खलकले उपाधि जितेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्