पोखरा ।।
पोखराको सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसबाट
१४ लाख ७४ हजार रुपैयाँ चोरी भएको छ। उक्त रकम चोरीमा सोही पार्टी प्यालेसका दुई पूर्व कर्मचारी संलग्न रहेको खुलेको छ ।
कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका १० का २२ वर्षीय ईश्वर श्रेष्ठ र स्याङ्जाको भिरकोट नगरपालिका ३ की २९ वर्षीया पूजा श्रेष्ठ रहेकी छिन् । उनीहरू दुवै जनाले करिब ४ महिनाजति त्यहाँ वेटरका रुपमा काम गरेका गरेका थिए ।
उनीहरुलाई बुटवल प्रहरीको सहयोगमा बुटवल उपमहानगरपालिका ११ कालिकानगरको एक होटलबाट नगद १२ लाख ५२ हजार ५ सय ८० रुपैयाँसहित पक्राउ गरि पोखरा ल्याइएको छ ।
सो पार्टी प्यालेसका सञ्चालक विनोद पौडेलका अनुसार
आफूहरूले पार्टी प्यालेसको संरचना थप गरिरहेकाले ढुंगा, बालुवा र गिट्टीको पैसा तिर्न भनी र्याकमा राखेको पैसा ११ माघ राति १ बजेको समयमा पूर्व कर्मचारीबाटै चोरी भएको जानकारी दिएका छन् ।
उनीहरू दुवै जनाले माघ ८ गते सँगै जागिर छाडेका थिए। त्यसको दुई दिन नबित्दै उक्त चाेरीकाे घटना भएको हो । चोरी भएपछि त्यहाँको सीसीटीभी फुटेज हेर्दा उनीहरूले चोरी गरेको खुलको हो।
पक्राउ परेका द्वयलाई अहिले कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।