पोखरा/शास्त्रीय संगीत समाज नेपाल, गण्डकी प्रदेशको आयोजनामा र भक्ति संगीत प्रतिष्ठान नेपालको सहकार्यमा पहिलो पटक शास्त्रीय तथा भजन संगीत शृंखला कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ।
कार्यक्रम संगीत प्रशिक्षण केन्द्र, बिन्ध्यवासिनीको सभाहलमा शास्त्रीय संगीत समाजका उपाध्यक्ष तथा भक्ति संगीत प्रतिष्ठानका अध्यक्ष नवराज बरालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा शास्त्रीय राग गायनसहित आधा दर्जनभन्दा बढी शास्त्रीय र भजन संगीत प्रस्तुत गरियो।
कार्यक्रममा वाद्यवादनमा मिलन गिरी, रोम तामाङ, नवराज बराल, समीर गायक, लक्ष्मण मुल्मी, टेकबहादुर राना, आर्जव पौडेल, करण तामाङ र पुर्खा पुनको सहभागिता थियो।
त्रिवेणी संगीतालयको सामूहिक राग भूपाली गायनबाट सुरु भएको कार्यक्रममा गंगा भुर्तेल(माताले) गणेश वन्दना साथै भक्ति संगीत प्रतिष्ठानका लक्ष्मी गिरी, पिंगला भट्ट, संगीत प्रशिक्षण केन्द्रका गोमा घिमिरे, टिना गुरुङ, ऋचा घिमिरे, कल्पना पोखरेल र कर्णप्रिय संगीतालयका पूर्णबहादुर श्रेष्ठले आफ्ना स्वर, शब्द र संगीतमा आधारित भजन प्रस्तुत गरे।
शास्त्रीय संगीत नेपाल र संगीत प्रशिक्षण केन्द्रका महासचिव एम.डि. काफ्लेले भजन शिरोमणि भक्तराज आचार्यको “कति लिन्छौ परीक्षा मेरो भगवान” बोलको भजन प्रस्तुत गर्दै कार्यक्रमलाई थप रोचक बनाएका थिए।
कार्यक्रमका सभाध्यक्ष नवराज बरालले शास्त्रीय संगीतको साधना र भक्ति संगीतको अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले सहभागीहरूलाई प्रेरित गरेको बताए। कार्यक्रमको अन्त्यमा उनले गुरु वन्दना गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे।