पोखरा ।।
सशस्त्र प्रहरी बल एपिएफ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ अपराजित रहँदै पहिलो क्वालिफायरमा पुगेको छ ।
लिग चरणका अन्तिम खेलमा आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ ‘जित्ने समूह’ को विजेता बन्दै पहिलो क्वालिफायरमा पुगेको हो ।
एपिएफसँग पराजित भएको टाइगर ग्रुप समूह उपविजेताको रुपमा पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको हो ।
एपिएफले पहिलो सेट २५–७, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो ।
तेस्रो सेटमा ११–१६ को पछि परेको स्थितिलाई उल्टाउँदै टाइगर ग्रुपले १८–१७ को स्थितिमा पु¥याएको थियो । तर, त्यसपछि भने एपिएफले पुनरागमन गर्दै खेल २५–२० ले आफ्नो पक्षमा पार्न सफल भयो ।
पहिलो क्वालिफायरमा पुनः एपिएफ र टाइगर ग्रुपबिच बिहीबार प्रतिष्पर्धा हुनेछ ।
यसअघि आजै भएको खेलमा ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको थियो ।