तनहुँ ।।
तनहुँमा यात्रुवाहक बस दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ बा ख २९९ नम्बरको बस दुर्घटनामा परेको हो।
दुर्घटनामा परेर चितवनको भरतपुर महानगरपालिकाको श्रृष्टीचोक बस्ने २२ बर्षकी सुमिना सापाकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी अशोक थापाले बताए। उनको घुँडा र मुखमा गम्भीर चोट लागेको थियाे। आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा ज्यान गएको डिएसपी थापाले जानकारी दिए।
बसका चालक तनहुँको भानु नगरपालिका– ५ बस्ने ३५ वर्षीया रविन्द्र घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बसको चालकले नियन्त्रण गुमाई बस सडक छेउको कल्भर्टमा पल्टिएको हो।









