पोखरा— आयोजक टाइगर ग्रुपले सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै पाँचौं एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ।
पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा टाइगर ग्रुपले एपिएफलाई ३–२ को रोमाञ्चक सेटमा पराजित गर्दै ऐतिहासिक जित दर्ता गर्यो। पहिलो सेट १७–२५ ले गुमाएको टाइगर ग्रुपले दोस्रो सेट २९–२७ ले जित्दै खेलमा फर्किएको थियो। तेस्रो सेट २१–२५ ले गुमाए पनि चौथो सेटमा २५–१६ को जित निकाल्दै खेललाई पाँचौं सेटसम्म पुर्यायो। निर्णायक सेटमा उत्कृष्ट प्रदर्शन गर्दै १५–१३ को जित निकाल्दै टाइगर ग्रुप पहिलो पटक प्रतियोगिताको च्याम्पियन बन्न सफल भयो।
उपाधिसँगै टाइगर ग्रुपले नगद ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्यो भने उपविजेता एपिएफले २ लाख ८५ हजार ५५५ रुपैयाँ हात पार्यो।
अब प्रतियोगिताको पुरुषतर्फको उपाधि नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीचको प्रतिस्पर्धाबाट टुंगो लाग्नेछ।