काठमाडौं / त्रिकोणात्मक टि-२० सिरिजमा नेपाल महिला क्रिकेट टोलीले लगातार तेस्रो हार व्यहोरेको छ । आज टीयू क्रिकेट मैदानमा भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भयो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाउँदै १४० रनको सम्मानजनक योगफल तयार गर्यो । नेपालकी सीता राना मगरले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट हात पारिन् ।
१ सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १२५ रनमै समेटियो । कप्तान इन्दु वर्माले सर्वाधिक ३० रनको योगदान दिइन् भने सम्झना खड्काले २३, पूजा महतोले १८ र कविता जोशीले १४ रन बनाए । नेदरल्यान्ड्सकी आइरिस ज्विलिङ र हिदर सेइगर्सले २-२ विकेट लिए ।
यसअघि नेपालले सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले र दोस्रो खेलमा थाइल्यान्डसँग ४ विकेटले पराजित भएको थियो । लगातार तीन हारसँगै नेपालले सिरिजमा जितविहीन यात्रा तय गरेको छ ।