पोखरा /गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले पोखरा महानगरपालिका–१७, सीतापाइलास्थित पोखरा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ।
प्रदेश सरकारको तर्फबाट सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले एक समारोहका बीच वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरे। उनले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई सहयोग गरिएको उल्लेख गर्दै प्रदेश सरकारले आगामी दिनमा पनि निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाए।
कार्यक्रममा प्रदेशसभा सदस्य महेश भट्टराईले ज्येष्ठ नागरिकलाई सहयोग गर्नु राज्यको महत्वपूर्ण दायित्व भएको बताए। वृद्धाश्रमका अध्यक्ष पराजुलीले वृद्धाश्रम २०५३ सालदेखि असहाय ज्येष्ठ नागरिकलाई सहारा प्रदान गर्दै आएको जानकारी गराए।
उक्त कार्यक्रममा प्रदेशका प्रमुख सचिव रघुराम विष्ट, मुख्यमन्त्री कार्यालयका सचिव केशवराज ढकाल, मन्त्रालयका सचिव लगायत विभिन्न अधिकारीहरूको उपस्थिति थियो।