“सबै मौसममा पर्यटन” भन्ने नारा सहित तेस्रो घान्द्रुक पर्यटन महोत्सव हुने
  • सरिता गुरुङ

smart

पाेखरा ।।
कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १० र ११ मा पर्ने घान्द्रुकमा तेस्रो घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।

“सबै मौसममा पर्यटन” भन्ने नारालाई आत्मसाथ गर्दै याे महाेत्सवकाे आयाेजना गरिएको महाेत्सव संयाेजक अमृत गुरुङले जानकारी दिएका छन् ।

उनका अनुसार घान्द्रुक पर्यटन व्यवस्थापन समितिकाे आयाेजनामा हुने यस महाेत्सव फागुन ७ देखि १० गतेसम्म हुनेछ । समितिले आज(बुधबार)पाेखरामा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै साे कुराकाे जानकारी दिएकाे हाे ।

महाेत्सव प्रतेक वर्ष जस्तै यस वर्ष पनि मेश्रम बराह मा.वि. घान्द्रुकको प्राङ्गणमा हुनेछ भने यस महाेत्सवमा क्लबस्तरीय पुरुष भलिबल, बास्केटबल, भेन्ट्रान्स भलिबल, घोडादौड, छेलो लगायतका प्रतियोगिताहरु सञ्चालन हुनेछ ।

४ दिनसम्म सञ्चालन हुने महोत्सवमा दैनिक सांस्कृतिक कार्यक्रमहरु पनि हुने र खेलकुदलाई पर्यटनसँग जोड्न महोत्सवमा खेलकुदका कार्यक्रमहरुलाई जोडिएको संयाेजक गुरुङले बताए ।

उनका अनुसार क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्नेछ ।

भलिबल र बास्केटबल प्रतियोगितामा सहभागिता जनाउन एक समूहलाई ६/६ हजार शुल्क निर्धारण गरिएको छ । प्रतियोगिताको दुवै विधामा सेमिफाइनलबाट बाहिरिने दुवै समूहलाई नगद १०/१० हजार पुरस्कार प्रदान गर्ने गुरुङले बताए ।

यस्तै उनका अनुसार क्लबस्तरीय भलिबल प्रतियोगितामा आठौं र नवौं प्रतियोगितामा खेलेका २ जना खेलाडी मात्र समावेश गर्न पाईने छ ।

महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको बिजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

भेन्ट्रान्स भलिबलमा सहभागिताका लागि एक समूहलाई ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । महोत्सवमा आयोजित घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै यस महाेत्सवकाे पत्येक साँझ सांस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिनेछ ।

विशेषगरी घान्द्रुक आउने पर्यटकहरुलाई विभिन्न खेलकुदका गतिविधिबाट समेत अझ बढी मनाेरञ्जन प्रदान गर्न र यस ठाउँकाे संस्कृतिलाई जर्गेना गर्ने उद्देश्य सहित महोत्सव आयाेजना भएको पनि घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिएका छन् ।

अध्यक्ष गुरुङका अनुसार महाेसत्व अवधिभर घान्द्रुक आउने पर्यटकहरुलाई २० प्रतिशत छुट र खेलाडीलाई ८ सय रुपैयाँको प्याकेजमा हाेटल उपलब्ध गराउँने पनि बताए ।

त्यस्तै घान्द्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको ६० वटा होटल र ३० वटा होमस्टेहरु सञ्चालनमा रहेको समितिका अध्यक्ष गुरुङले जानकारी दिए ।

घान्द्रुक गाउँ माछापुच्छ्रे हिमालको काखमा अवस्थित र गुरुङ संस्कृतिका लागि परिचित गाउँ हाे ।यहाँ ढुंगैढुंगा बिछ्याएर बनेका घरहरु भएकाले यस गाउँ ‘ढुंगेनी गाउँ’ काे रूपमा पनि परिचित छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १० र ११ मा पर्ने यो गाउँ स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा स्थापित छ ।

अन्नपूर्ण सर्किट पदयात्रा, घोरेपानी, पुनहिल, अन्नपूर्ण बेसक्याम्प लगायतका चर्चित पदमार्गहरुकाे प्रवेशद्वार पनि हाे घान्द्रुक गाउँ ।

पोखराबाट जम्मा साँढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङ सडकखण्डको नयाँपुल, विरेठाटी हुँदै घान्द्रुक पुग्न सकिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्