पोखरा/पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकप अन्तर्गत सिक्किमको आमन्त्रित टोली थन्डरबोल्ट्स युनाइटेडले तीन पटकको च्याम्पियन संकटा क्लबलाई ३-१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
शुक्रबार पोखरा रंगशालामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा संकटाले सुरुआती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। खेलको १७औं मिनेटमा मनिष पौडेलको गोलमार्फत संकटा अगाडि बढेको थियो। उनले पासाङ लामाको उत्कृष्ट पास सदुपयोग गर्दै विपक्षीको डि-बक्सबाट गोल गरे।
तर, संकटाको अग्रता लामो समय टिक्न सकेन। ३४औं मिनेटमा थन्डरबोल्ट्सले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो। पेनाल्टीको अवसर पाएको थन्डरका टालाले सजिलै गोल गर्दै खेललाई १-१ को अवस्थामा ल्याए। संकटाका गोलकिपर दिप कार्कीले बल रोक्ने कुनै अवसर पाएनन्।
७७औं मिनेटमा थन्डरबोल्ट्सका करन राईले व्यक्तिगत उत्कृष्ट गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाए। उनले आन्द्रेको क्रसलाई सदुपयोग गर्दै बक्सबाट बल जाली चुमाए। संकटाका डिफेन्डर र गोलकिपर उक्त प्रहार रोक्न असफल भए।
त्यसपछि थप आक्रामक बनेको थन्डरबोल्ट्सका आदर्श तामाङले खेलको ८४औं मिनेटमा निर्णायक गोल गर्दै टिमलाई ३-१ को अग्रता दिलाए। उनले मैदानको सेन्टरभागबाटै उत्कृष्ट गोल गर्दै संकटाको सम्भावना समाप्त पारिदिए।
यस जितसँगै पहिलो पटक आहारारा पोखरा गोल्डकप खेलिरहेको सिक्किमको टोलीले बलियो टिम संकटालाई स्तब्ध पार्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।