पाेखरा ।।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी(एस) गण्डकी प्रदेश कमिटिको अध्यक्षमा कृष्ण बहादुर नेपाली निर्विराेध निर्वाचित भएका छन्।
अध्यक्ष पदमा नवनिर्वाचित नेपाली यसअघि गण्डकी प्रदेश कमिटीका सचिव थिए। साेमबार पाेखरामा सम्पन्न प्रथम अधिवेशनले उनकाे अध्यक्षतामा ७ पदाधिकारीसहित १४३ सदस्यीय प्रदेश कमिटी निर्विरोध निर्वाचित गरेको हो ।
नवगठित कमिटीमा अध्यक्षसहित २ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव तथा भूगोल र विभिन्न क्षेत्रका प्रतिनिधिहरू छन्। यस्तै १ सय ४३ सदस्यीय कमिटीमा विभिन्न क्लष्टरका ४१ पद भने रिक्त रहेका छन्।
यस्तै कमिटीकाे उपाध्यक्षमा विष्णु गिरी र मुक्तिनाथ पौडेल, सचिवमा ठाकुर प्रसाद शर्मा तथा सह-सचिवमा टीकाराम पौडेल, विवेक भूजेल र सुष्मा काफ्ले समेत निर्विरोध रुपमा चयन भएका छन्।
निर्वाचित अध्यक्षसहित सम्पूर्ण कमिटीलाई नेकपा (एस) का वरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष मण्डलका प्रमुख राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए।
यही माघ २६ र २७ गते गरि दुई दिनका लागि अभिवेशनकाे समय तय भएपनि नेतृत्व चयनको प्रक्रिया
निर्विरोध गर्न एक दिन समयावधि थप गरिएको थियो।
उक्त थप समय अनुसार आज(साेमबार)मात्र नेकपा एसले
गण्डकी प्रदेश कमिटिमा निर्विरोध रुपमा आफ्नाे नेतृत्व सहितकाे पदाधिकारी चयन गर्न सफल भएको हाे ।
अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न १२ वटा उपसमिति गठन गरिएको थियो ।
त्यस्तै नवगठित प्रदेश कमिटीको कार्यकाल ४ वर्षको हुनेछ। अधिवेशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रतिनिधिहरू, विभिन्न जनसंगठन तथा मजदुर फाँटका गरी ४ सय प्रतिनिधिहरू सहभागी थिए।