सगरमाथा निकेतन स्कुलको १८औँ वार्षिकोत्सव सम्पन्न
  • सन्तोष पराजुली

पोखरा/पोखरा महानगरपालिका–४ स्थित सगरमाथा निकेतन स्कुलले आफ्नो १८औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो।

आचार्यले सैद्धान्तिक ज्ञानसँगै खोजमूलक र व्यावहारिक शिक्षाको आवश्यकता औँल्याउँदै शिक्षण विधिमा विविधता आवश्यक रहेको बताउनुभयो। विद्यालयका प्राचार्य दिलिप कुमार शर्मा भट्टराईले शैक्षिक गुणस्तर वृद्धिका लागि अभिभावकको साथ महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।

दीर्घकालीन योगदान दिने शिक्षकहरूलाई नगदसहित सम्मान प्रदान गरियो। साथै, पूर्ण छात्रवृत्ति प्राप्त गरेका पूर्व विद्यार्थीहरूलाई पनि सम्मान गरियो। वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई ट्रफीसहित पुरस्कृत गरियो।

कार्यक्रममा विद्यार्थीहरूले नाटक, भजन, गीत तथा नृत्य प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गरे। विसं २०६२ मा स्थापना भएको विद्यालयमा हाल ८०० विद्यार्थी अध्ययनरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्