पाेखरा ।।
कास्की जिल्ला टी–२० क्रिकेट लिगकाे उपाधि सांग्रिला क्रिकेट क्लबले जितेकाे छ । सांग्रिलाले कास्की क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेकाे हाे ।
विपिन खत्रीको कप्तानीमा पोखरा रंगशाला क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा सांग्रिलाले उपाधि जित्न सफल भएको हाे ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा भएको उक्त प्रतियोगितामा टस हारेर व्याटिङ गरेको कास्कीले शून्य रनमै पहिलो विकेट गुमाएकाे थियाे ।
ओपनर सोहेल कुँवर पनि विपिन खत्रीको बलमा दुई बलमै आउट भएपछि कास्कीको विकेट गुम्न शुरु भएको थियो ।
तेस्रो नम्बरमा आएका रोहित चन्द पनि विपिन खत्रीकै बलमा शून्यमै पभेलियन फर्किएका थिए। भरपर्दा व्याटर अर्जुन कुमालले भने ३३ रन बनाए । उनले २८ बलमा तीन चौका र १ छक्का प्रहार गरेका थिए ।
९४ रनको लक्ष्य पछ्याएको सांग्रिलाले विपिन खत्रीकाे ४९ रनमा अविजित रहँदै जित सुनिश्चित बनाए । उनले ४१ बलमा ५ चौका र १ छक्का हिर्काए ।
राउण्ड रोविनको आधारमा खेलाइएको यस प्रतियाेगितामा कास्की जिल्ला क्रिकेट संघमा आवद्ध ८ वटा क्लबले सहभागिता जनाएका थिए ।
१५ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कास्की क्रिकेट क्लबका सुवास भण्डारी प्लेयर अफ दि टुर्नामेन्ट बने । ७ म्याचमा ६ इनिङ खेलेका सुवासले ७४ को औसतमा कुल २ सय ७० रन बनाए ।
राष्ट्रिय टोलीका सदस्य समेत रहेका उनले कुल इनिङमा ३१ चौका र १७ छक्का प्रहार गर्दै ५ अर्धशतकसहित ८७ सर्वाधिक रन समेत जोडे ।
सुवासले बेष्ट व्याटरसंगै बेष्ट बलरको उपाधि समेत जिते । फाईनल खेलमा प्लयेर अफ दि म्याचको पुरस्कार भने विपिन खत्रीले पाए ।
विजेता र उपविजेता क्लबका खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य ऋषिराम गौतम, प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सन्जयकान्त सिग्देल लगायतले ट्रफी, पदक तथा प्रमाण-पत्र प्रदान गरेका थिए ।