प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा पुन: पौडेल
  • प्रमुख खबर

पोखरा ।।
प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको दोस्रो अधिवेशनबाट अध्यक्षमा पुन: इन्द्रप्रसाद पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । नवलपुरमा भएको दोस्रो अधिवेशनबाट उनी आगामी तीनवर्षे कार्यकालका लागि पुनः अध्यक्षमा सर्वसम्मत भएका हुन् ।  समितिको उपाध्यक्षमा इतराज गुरुङ र रञ्जिता शर्मा, महासचिवमा आश गुरुङ, कोषाध्यक्षमा मदन तिमल्सिना, सचिवहरूमा गौरव त्रिपाठी, गोपाल जीटी,  सिर्जना बराल, बालकृष्ण सुवेदी र  दिलबहादुर बिक चयन भए ।
यसैगरी सदस्यमा रोशन लामिछाने, राजन पौडेल, डा. नरनाथ पाण्डे, हरि सुवेदी (सुशील), राम सुनार, अर्जुन गाहा (सुशान्त), विजय नेपाल, सुवास गौतम, राजन उपाध्याय, दयाराम आचार्य, रञ्जन अधिकारी, रामबहादुर खत्री, शिव बोहरा, नीरज थकाली रहेका छन् ।

यसअगाडि अधिवेशनको उद्‌घाटन गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी नेपाल आबद्ध पत्रकारहरू व्यावसायिक हुनु पर्ने बताए।  अध्यक्ष बस्नेतले सङ्गठनको निर्देशन पालना गर्नु हरेक सदस्यको दायित्व भएको बताए  । सङ्गठन वा पार्टीको निर्देशन मान्ने नाममा जसलाई जे मन लाग्यो त्यही निर्देशन दिने र त्यसलाई मान्ने सङ्गठन र सदस्य प्रेस चौतारी नेपाल नभएको उनले स्पष्ट पारे । प्रेस चौतारी नेपाल विधि र प्रक्रियामा चल्ने सङ्गठन भएको बस्नेतको भनाइ थियो ।

प्रेस चौतारी नेपाल कुनै पद पाइन्छ भनेर स्थापना नगरिएको बताए । ‘पद प्राप्तिको लागि हारालुछ गर्ने, पार्टीका नेताहरूको घर घरमा पुग्ने, आफ्नै साथीहरू माथि आरोप लगाउने र त्यसो गर्दा पनि भएन भने सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरूका लागि प्रेस चौतारी नेपाल बनेको होइन’, उनले भने ।

प्रदीप नेपाल, स्वर्गीय अग्नि शिखा लगायतको योगदानबाट बनेको प्रेस चौतारी नेपाल कसैको स्वार्थको केन्द्र बन्न नसक्ने उनले प्रष्ट पारे। ‘प्रेस चौतारी नेपालले सधैँ स्वाभिमानको झण्डा उठाउँदै आएको छ, प्रेस स्वतन्त्रताको लागि प्रेस चौतारी नेपालले आफ्नै पार्टीका विरुद्ध पनि झण्डा उठाउँदै आएको छ’ उनले थपे ।
बस्नेतले पत्रका महासङ्घको निर्वाचनमा आफ्ना उम्मेदवारलाई हराउन लाग्ने, निर्वाचनमा भोट हाल्न समेत जिल्लामा नजाने प्रेस चौतारीका सदस्यलाई जिम्मेवारी नदिने स्पष्ट गरेका छन् । आफूले यो कुरा सार्वजनिक रूपमा घोषणा गरिसकेको उनले दोहोर्‍याए । ‘काम गर्ने अगाडि जान्छन्, काम नगर्ने छुट्छन्, उहाँहरूलाई धेरै अगाडि लिएर जान सकिन्न’, उनले भने ।

प्रेस चौतारी नेपाल स्वाभिमानको झण्डा लिएर देश बनाउने अभियानमा लागेको बस्नेतले बताए । त्यसैले प्रेस चौतारी नेपाल माथि कुनै हस्तक्षेप नगर्न र नधम्क्याउन उनको आग्रह थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्