पाेखरा ।।
पाेखराकाे विभिन्न स्थानमा रहेका वर-पिपलका वृक्षहरुकाे स्वीकृत विना नै धमाधम काटेकाे विषयमा छानबिन गरी
दोषीलाई कानुनी कारबाही गर्न पाेखराका सराेकारवाला नागरिकहरु, वातावरणविद् र संरक्षणकर्मीहरुले माग गरेका छन् ।
वातावरण संरक्षणका लागि महाअभयान- कास्की, नागरिक समाज कास्की, सेवा निवृत्त वन प्राविधिक समाज-गण्डकी प्रदेश, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल र पाेखरा पंक्षी समाजले आज वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेललाई संयुक्त रुपमा ध्यानाकर्षण-पत्र बुझाएको हाे ।
उक्त ध्यानाकर्षण पत्रमा पाेखरा महानगरपालिका भित्रका वडा नम्बर ६, १३ र १४ मा धार्मिक गतिविधिको आडमा
लापरबाही ढंगबाट रुख कटान गरिएको हुदाँ यस विषयमा छानबिन गरि दोषीलाई कानुनी कारबाही गर्न माग गरिएको छ ।
धार्मिक महत्त्वका वृक्षहरुकाे कटानीले पर्यावरण सन्तुलनमा बाधा पुर्याउने मात्र नभइ यसले जनजीवनसँग जाेडिएका यस्ता पवित्र रुखहरुसँग सम्बन्धित सांस्कृतिक र आध्यात्मिक लगायत ऐतिहासिक, पुरातात्त्विक, सामाजिक र वातावरणमा समेत गम्भीर असर गर्ने उल्लेख गरिएको छ ।
उनीहरुले जारी गरेकाे साे ध्यानाकर्षण पत्रमा विभिन्न माग समेत गरेकाे छ । पहिलो माग अवैध कटानमा जिम्मेवार रहेका व्यक्तिहरु विरुद्ध मुलुकी अपराध संहिता, २०७४ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिन आग्रह गरिएको छ । साथै, वरपिपल तथा समीका वृक्षहरू कटान गरी ओसारपसारमा संलग्न व्यक्तिहरूलाई वन ऐन अनुसार वन कार्यालयलेले कडा कारबाही गर्न माग गरिएको छ ।
दाेस्राेमा वन ऐन तथा वरपिपल, शमी र चौतारो संरक्षण ऐन, २०७५ लाई आवश्यक संशोधन गरि थप मजबुत बनाउन पनि माग गरिएको छ ।
तेस्राे माग वर पिपल संरक्षणकाे लागि विज्ञहरूकाे भेला डाक्न र रुखहरु पुनर्स्थापनाका लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने भनिएकाे छ ।
यस्तै अन्तिम माग भनेकाे वृक्ष संरक्षण तथा शहरी योजना निर्माणमा स्थानीय समुदाय, धार्मिक समूह र वातावरणविद्हरूलाई समावेशी रूपमा सहभागी गराउनुपर्ने भनिएकाे छ ।
उक्त ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री पौडेलले कानुनी प्रावधानको मिहीन अध्ययन गरी दोषीलाई कारवाही हुने गरी प्रक्रिया अघि बढाउने बताएका छन् ।
उनीहरुले जारी गरेकाे साे पत्रमा डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, वन निर्देशनालय, मुख्य न्यायाधिवक्ताको कार्यालय, पोखरा महानगरपालिका, जिल्ला समन्वय समिति, वन तथा भूसंरक्षण विभाग, वन तथा वातावरण मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायलाई बोधार्थ दिइएको छ ।
ध्यानाकर्षण पत्रमा वातावरण संरक्षणका लागि महाअभियान कास्कीका तर्फबाट रामबहादुर पौडेल, नागरिक समाज कास्कीबाट दुर्गाकुमारी शर्मा,सेवा निवृत्त वन प्राविधिक समाजबाट रामकाजी श्रेष्ठ, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिबाट कल्याण पन्त र पोखरा पंक्षी समाजबाट हेमन्त ढकालले हस्ताक्षर गरेका छन् ।
पोखरामा आगामी बैशाख १७ देखि जेठ २६ गतेसम्म फेवातालमा कोटीहोम सञ्चालन गर्ने भन्दै मानव सेवा फाउण्डेशनले पोखराका सयौँ वर्ष पुराना रुखहरु ठुटाे बनाएर काटेकाे आराेप लागेकाे छ ।
विशेषगरी पाेखरा महानगरभित्रका वडा नम्बर १३ र १४ मा रहेका वर, पीपल र शमी नफैलिने गरि ठुटाे बनाएका कारण नै विवाद सुरु भएको हाे ।
तर यता, बालयोगेश्वर विजय कृष्णमूर्तिले भने आफुहरुले उक्त रुखहरु नकाटेकाे बताउँदै आएका छन् । उनले विभिन्न विवाद सृजना गरेर आफु र आफ्नाे फाउण्डेशनलाई फसाउने षड्यन्त्र भएको पनि बताउँदै आएका छन् ।