पाेखरा ।।
२० औं फेवा नव वर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । होटल संघ पोखराले नेपाली नयाँ वर्षकाे अवसरमा प्रतेक वर्ष आयाेजना गर्दै आएकाे उक्त महाेत्सवकाे तयारी अगाडि बढाइएको हाे ।
महोत्सवलाई व्यवस्थित र सफल बनाउन विभिन्न उप-समितिहरु गठन गरी काम अगाडि बढाइएको महोत्सवका संयोजक एवं होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिएका छन् ।
अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ वर्षलाई पनि उत्तिकै महत्व दिँदै नेपाली कला तथा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्धेश्य सहित याे महोत्सव आयाेजना गर्दै आएकाे उनले बताए ।
यस्तै पर्यटनकाे राजधानी पाेखरामा आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गरि अर्थतन्त्रलाई चलायमान बनाउन महाेत्सव आयाेजना गरिएको अध्यक्ष सुवेदीले बताए ।
यस महाेत्सवकाे उद्देश्य फेवा तालको संरक्षणमा सचेतना फैलाउने पनि रहेकाे उनले जानकारी दिए ।
ड्यामसाइडदेखि गैराको चौतारा सम्मको तीन किलोमिटर भन्दा लामो क्षेत्रमा सडकमै यो महोत्सव आयोजना हुनेछ ।
महोत्सवमा विभिन्न खानाका परिकार, नेपाली मौलिक कला र संस्कृति झल्कने नाचगान, पर्यटकीय स्टलहरु र खेलकूदका कार्यक्रम समेत समेटिने भएका छन् ।
यसैबिच संघले नेपाल पर्यटन बोर्ड गण्डकीको प्रमुखका रुपमा पोखरा आएका मणिराज लामिछानेलाई कार्यक्रममा स्वागत समेत गरेको छ ।
सो अवसरमा प्रमुख लामिछानेले गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा संघसँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।











