पोखरामा पहिलो त्रिदेशीय पर्यटन प्रदर्शनी ‘नाइस–२०२५’ सुरु
  • प्रमुख खबर

पोखरा/नेपालको पर्यटन राजधानी पोखरामा पहिलोपटक नेपाल, भारत, र चीन सम्मिलित त्रिदेशीय पर्यटन प्रदर्शनी ‘नाइस–२०२५’ सुरु भएको छ। तीन दिनसम्म चल्ने यो प्रदर्शनीले छिमेकी दुई मुलुकबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।

प्रदर्शनीमा पर्यटन व्यवसायसँग सम्बन्धित ८० क्रेता, ७० बिक्रेता, र ७५ अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसहित ६०० भन्दा बढी सहभागी छन्। नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद्, र प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको सहकार्यमा आयोजना गरिएको यस कार्यक्रमले तीन देशका पर्यटन व्यवसायीहरूलाई एउटै मञ्चमा ल्याएर व्यावसायिक सञ्जाल विस्तार गर्ने विश्वास गरिएको छ।

प्रदर्शनीले पोखरालाई साहसिक पर्यटन र पदयात्रा गन्तव्यको रूपमा मात्र नभई माइस पर्यटन (सभा–सम्मेलन, उत्सव, प्रदर्शनी, विवाह तथा कर्पोरेट कार्यक्रम) को केन्द्रका रूपमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

पाटा नेपाल च्याप्टरका सीईओ सुरेशसिंह बुडालका अनुसार भारत र चीनजस्ता दुई ठूला अर्थतन्त्रमा नेपालको पर्यटन सम्भावनालाई उजागर गर्दै पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले यो प्रदर्शनी आयोजना गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्