सांसद सोबिता गौतम थाइल्यान्डमा, जलवायु मुद्दामा नेपालको प्रतिनिधित्व
  • प्रमुख खबर

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतम संयुक्त राष्ट्रसंघीय क्षेत्रीय युवा संसद सम्मेलनमा सहभागी हुन मंगलबार थाइल्यान्ड प्रस्थान गरेकी छन्।

बैंककस्थित संयुक्त राष्ट्रसंघ (UN) को क्षेत्रीय कन्फरेन्स हलमा फेब्रुअरी २६ देखि २८ सम्म तीन दिने  Regional Youth Parliament in Climate Action Dialogue  आयोजना हुँदैछ। नेपालबाट संसदीय प्रतिनिधित्व गर्दै गौतम उक्त सम्मेलनमा सहभागी भएकी हुन्।

नेपालका विभिन्न क्षेत्रका युवा प्रतिनिधिहरू समेत यो कार्यक्रममा सहभागिता जनाइरहेका छन्। बुधबार सांसद गौतमले मलेसिया र इन्डोनेसियाका प्रतिनिधिसँगै जलवायु परिवर्तन तथा क्लाइमेट पोलिसीबारे नेपालको तर्फबाट धारणा प्रस्तुत गर्नेछिन्। उनले जलवायु संकट समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेकी छन्।

सम्मेलनमा चीन, फिलिपिन्स, मलेसिया, इन्डोनेसिया, श्रीलंका, सिंगापुर, नेपाल, हङकङ, भारत, भुटानलगायत १२ देशका युवा प्रतिनिधिहरूको सहभागिता रहनेछ। सांसद गौतम फेब्रुअरी २९ गते स्वदेश फर्किने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्