महायज्ञमा भक्तजनको घुइचो, आज एकैदिन ४० लाख संकलन
  • प्रमुख खबर

पोखरा ।।
सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाेउत्सव अन्त्यतिर आइरहदाँ भक्तजनको सहभागिता एवम् दान रकम बढेको छ।

महायज्ञको छैटौं दिन आज सोमबार करिब २० हजार भक्तजनले यज्ञ अवलोकन गरेका छन् । आजमात्रै ४० लाख बढी दान संकलन भएको महायज्ञका कोषाध्यक्ष शिव कोइरालाले जानकारी दिएका छन् ।

योसँगै हालसम्म यज्ञमा रु १ करोड ५३ लाख बढी दान संकलन भएको छ । आज त्यहाँ सय बढी आमा समूह, टोल विकास संस्था तथा अन्य संघसंस्थाले सहयोग गरेका छन् ।

पोखराका विभिन्न वडा, छिमेकी पालिका, पर्वत, तनहुँ एवम् धादिङबाट समेत विभिन्न संघसंस्था सराङकोट धाम पुगी दान गरेका हुन् ।

यसअघि महायज्ञ स्थल तथा धाम गरी २ ठाउँबाट दान संकलन गर्ने गरिएकोमा आज सोमबार सचिवालयबाट समेत गरी ३ स्थानबाट दान संकलन भएको थियाे ।

यज्ञमा सोमबार पोखरा १८ निवासी गौमती जिसी परिवारले रु.३ लाख ४८ हजार ९ सय ९९, पोखरा न्यूरोड निवासी तीर्थबहादुर उर्मीला बस्नेत परिवारले रु.२ लाख ३३ हजार ३ सय ३३, पोखरा ८ निवासी कृष्णबहादुर कुँवर परिवारले पनि समान रु.२ लाख ३३ हजार ३ सय ३३ दान गरेका छन् ।

त्यस्तै पोखरा १८ निवासी रमेश सुशिला थापा परिवारले रु.१ लाख ११ हजार १ सय ११, बालहितकारी परियोजना पोखरा १५ नयाँगाउँले रु.१ लाख १ हजार १ सय ११, पुन समाज नदीपुरले रु. ५३ हजार १ सय ११, पोखरा १८ मेथलाङका गोविन्द तथा ईश्वर गौतम परिवारले रु.५१ हजार १ सय ५५, पोखरा १८ तोरीपानीकी सुमित्रा तिमिल्सीनाको परिवारबाट रु.५१ हजार १ सय ५५, पोखरा २२ पुग्दीभुम्दी निवासी चन्द्रकान्त वराल परिवारबाट रु.५१ हजार दान प्राप्त भएको प्रचारप्रसार उपसमिति संयोजक कृष्ण थापाले जानकारी दिएका छन् ।

सोमबार यज्ञलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सराङकोट पवित्र भूमि भएको चर्चा र यहाँको बृद्धि विकासमा महानगरपालिका प्रयत्नशील रहेको बताए ।

उनले धार्मिक पर्यटकीय क्षेत्र अन्तर्गत आगामि दिनमा विश्व बैंकको सहयोगमा सराङकोटमा विभिन्न संरचना निर्माण हुने पनि जनाए ।

यज्ञ अन्र्तगत सोमबार वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले स्थानीय चण्डी मन्दिरको उद्घाटन पनि गरेका छन् । सराङकोटमा वि.स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ ।

हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् ।

ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ । त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्