पाेखरा ।।
“गण्डकी प्रदेश खेलकुद पदक स्थापना तथा व्यवस्थापन सम्बन्धि कार्यविधि–२०८१” लाई प्रदेश सरकारले प्रमाणित गरेको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीले खेलाडीसहित खेलकुदको विकास र प्रवर्द्धनमा योगदान पुर्याएकाहरुका लागि अघि सारेको याे कार्यविधि प्रदेश सरकारले साेमबार प्रमाणित गरेकाे हाे ।
उक्त कार्यविधि प्रमाणित प्रदेश सरकारबाट प्रमाणित गरेर सार्वजनिक भएसंगै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले खुसी व्यक्त गरेका छन् ।
नेपाली खेल क्षेत्रमा पहिलो पटक खेलाडीसहित खेल क्षेत्रलाई ‘प्रदेश खेलकुद पदक’ ले विभुषित हुने भएपछि यो विषय नेपाली खेलकुद क्षेत्रमा नयाँ आयाम भएको भन्दै उनले खुसी व्यक्त गरेका छन् ।
प्रदेश खेलकुद पदकबाट हरेक वर्ष २१ जना विभुषित हुनेछन् । जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, खेलकुदमा विशेष योगदान दिएका व्यक्ति, रेफ्रि, व्यवस्थापक, अफिसियल, खेल पत्रकार तथा सञ्चार गृह समेत यो पदकबाट विभुषित हुनेछन् ।
खेलकुद क्षेत्रमा विशेष योगदान दिने राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलाडी, खेल प्रतियोगिता आयोजना गर्ने व्यक्ति संघ–संस्था, फर्म र खेलाडी कल्याणकारी कोषको रकम वृद्धिमा सहयोग गर्ने र खेल क्षेत्रमा आर्थिक सहयोग गर्ने व्यक्ति, निकायलाई समेत खेलकुद पदकबाट विभूषित हुने कार्यविधिमा उल्लेख रहेकाे छ ।
प्रदेश खेलकुद परिषद गण्डकीले सञ्चालन गर्ने प्रदेश खेलकुद पदकको संरक्षक गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री हुने व्यवस्था कार्यविधिमा रहेको छ ।
प्रदेश खेलकुद पदकले खेलकुदप्रतिको भावना जागरुक बनाउन महत्वपूर्ण भुमिका रहने विश्वास गरिएको छ ।