पाेखरा ।।
कास्कीको अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर उडान गर्दा शुल्क तिर्नुपर्ने भएको छ । अहिलेसम्म त्यहाँ नि:शुल्क रुपमा हेलिकोप्टर उडान गर्दै आएकाेमा अब भने शुल्क तिर्नुपर्ने भएको हाे ।
उक्त बेसक्याम्पमा हेलिकप्टर उडान गरी ल्याण्ड गर्ने विभिन्न कम्पनीहरुले अब देखि प्रति उडानको १० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने कानूनि व्यवस्था गरिएको छ ।
अन्नपूर्ण गाउँपालिकाले आफ्नो ठाउँमा निश्चित मापण्डका आधारमा अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर उडान गर्दा शुल्क तिर्नुपर्ने व्यवस्थालाई बुधबारदेखि लागू गरेकाे हाे ।
वि.सं २०७९ मा बनाइएको कार्यविधिमा पालिकाले संशोधन सहित फागुन १ गते राजपत्रमा प्रकाशित सूचना अनुसार नै शुल्क लिन थालिएको पालिकाका अध्यक्ष विष्णु केसीले जानकारी दिएका छन् ।
यस्तै बेस क्याम्पमा व्यावसायिक उडान गर्न चाहने कम्पनीले पालिकामा सूचीकरण गर्नुपर्ने व्यवस्था छ ।
सूचीकरणको छुट्टै ५ हजार तिर्नुपर्छ । पालिकाबाट अनुमती लिएका कम्पनीले मात्रै वर्षैभरी उडान भर्न पाउनेछन् ।
त्यसै क्षेत्रमा उडानका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) बाट पनि अनुमती लिनुपर्दछ । प्रति उडान ३ हजार लिएर अनुमती दिइएको एक्यापका प्रमुख डा. रविन कडरियाले बताए ।
हालसम्म साे क्षेत्रमा उडानकाे लागि सिम्रिक एयरले मात्र अनुमति लिएको छ । अनुमति लिएका कम्पनी बाहेक अन्यले उडान भर्न चाहेमा प्रति उडान २० हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था राखिएको छ ।
यस्तै सिजनमा उक्त क्षेत्रमा यस अघि दैनिक २० वटासम्म फ्लाइट हुने गरेकाेमा अब देखि एक दिनमा १२ वटासम्म मात्रै उडान गर्न पाउने गरी व्यवस्था गरिएको छ।
विशेषगरी धेरै उडान हुँदा पदयात्रामा जाने पर्यटक र वन्यजन्तुलाई असर परेको गुनासो आएपछि सिमित उडानका लागि मात्रै अनुमति दिने व्यवस्था गरेको अन्नपूर्ण गाउँ पालिकाका वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङले बताएका छन् ।
उनका अनुसार बढी उडान गरे कारबाही गर्न स्थानीय क्लबलाई व्यवस्थापनको जिम्मा समेत दिइएको छ ।
त्यस्तै उडानलाई व्यवस्थित गर्न पोखरा विमानस्थल र बेसक्याम्पमा एक-एक जना कर्मचारी पालिकाले खटाउने पनि उनले बताए ।
यस्तै हेलिकोप्टर उडानबाट उठेको रकमबाट ३ प्रतिशत पर्यटन सूचना केन्द्र संचालन कोषमा खर्च गर्ने पालिकाले जनाएको छ ।
पर्यटन शुल्कबाट प्राप्त आम्दानी भने ११ नम्बर वडाको पर्यटन विकासमा खर्च गर्ने व्यवस्था कार्यविधिमा रहेकाे छ ।