पोखरा ।।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा अहिलेसम्म ८२ वटा क्याम्पसमा सर्वसम्मत अध्यक्ष चुनिएका छन् ।
नेकपा एमाले निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियुले ३२ वटा क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध जितेको छ । यस्तै नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसङ्घबाट २८ वटा क्याम्पसमा अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै नेकपा (माओवादी केन्द्र) को विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) बाट २१ जना स्ववियु अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । यता नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले मकवानपुरमा रहेको मनहरी बहुमुखी क्याम्पसमा निर्विरोध अध्यक्ष प्राप्त गरेको छ ।
त्रिविबाट आङ्गिक ६२ सम्बन्धन प्राप्त १ हजार ४० वटा क्याम्पसमा आउँदो चैत ५ गते निर्वाचन हुने गरी तालिका सार्वजनिक गरेको छ ।
यसैबीच नेविसङ्घको डा. शेखर कोइराला समूहले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको निर्वाचन कार्यालयमा आगजनी र तालाबन्दी गरेको छ । यस्तै नेविसङ्घले केन्द्रीय क्याम्पस कीर्तिपुरमा पनि तालाबन्दी गरेको छ ।