२० औं फेवा नव वर्ष महोत्सव २०८२ को तयारी तीव्र
  • प्रमुख खबर

पाेखरा ।।
२० औं फेवा नव वर्ष महोत्सव २०८२ को तयारी तीव्र रुपमा अगाडि बढाइएको छ । होटल संघ पोखरा नेपालले
आज पत्रकार सम्मेलन गर्दै उक्त महाेत्सवबारे जानकारी दिएकाे हाे ।

महाेत्सव चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखरामा हुनेछ । ड्यामसाइडदेखि खहरेसम्म सडकमा नै संचालन हुने महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने मुख्य उद्देश्य सहित पर्यटन, संस्कृति र खाना भन्ने नारासहित यो महोत्सव हुन लागेको संघका अध्यक्ष लक्षमण सुवेदीले जानकारी दिएका छन् ।

रैथाने र परम्परागत खानाको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, मनोरञ्जन र खेलकूदका कार्यक्रम, पर्यटक दौड, पप कन्सर्ट, कृषि र हस्तकलाका सामग्रीको प्रर्दशनी र लोकदोहोरीका कार्यक्रम महोत्सवका प्रमुख आकर्षणका रुपमा रहनेछन् ।

अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ वर्ष पनि उत्तिकै उल्लासका साथ मनाउने र यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय पनि महोत्सवले लिएको छ ।

अध्यक्ष सुवेदीका अनुसार महोत्सवकै प्रचारका लागि संघले हालै पूर्वी नेपालमा जाउँ है पोखरा अभियान सम्पन्न गरेको र पश्चिम नेपालमा पनि यस्तो अभियान छिटै संचालन गर्ने जानकारी दिएका छन्।

उनका अनुसार पर्यटनको राजधानि पोखरामा हाल होटल अकुपेन्सि करिब ४० प्रतिशत रहेको बताएका छन् ।

पर्यटनको दोश्रो सिजनको रुपमा मानिने (मार्च, अप्रिल र मे) को सिजन सुरु भएसंगै पोखरामा हाल होटल अकुपेन्सि करिब ४० प्रतिशत रहेको उनले बताएका हुन् ।

जसअन्तर्गत भारतिय पर्यटक १०प्रतिशत, तेश्रो मुलुकका पर्यटक करिब १० र आन्तरिक पर्यटक भने २० प्रतिशत जसो रहेको उनले बताए ।

पोखरा महानगरले सन् २०२५ मा पोखरामा आन्तरिक तथा बाह्यि गरी २० लाख पर्यटक भित्राउने लक्ष्यसहित घाेषणा गरेकाे “भिजिट पाेखरा २०२५”लाई सफल पार्न संघले जनवरी देखि आउँदो डिसेम्बरसम्म होटल आवासमा २० प्रतिशत छुटको व्यबस्था गरेकाे पनि उनले स्पष्ट पारे ।

संघमा आवद्ध पोखरा सहितका क्षेत्रमा ४ सय २५ वटा होटलहरु रहेका छन भने पोखरा सहित पोखरा आसपासमा पर्यटकीय स्तरका करिब १ हजार २ सयको हारहारीमा होटलहरु रहेको पनि अध्यक्ष सुवेदीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्