काठमाडौं/ अपराजित पौडेलको घातक बलिङसँगै नेपाली यू-१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीले दिल्ली यू-१९ विरुद्धको अभ्यास सिरिजमा लगातार दोस्रो जित निकालेको छ । यो जितसँगै नेपालले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पार्न सफल भएको छ ।
आगामी अप्रिलमा नेपालमै आयोजना हुने आईसीसी यू-१९ विश्वकप एसिया छनोटको तयारीस्वरूप आयोजित सिरिजको दोस्रो खेलमा नेपालले १०२ रनको फराकिलो जित हासिल गर्यो ।
वीरगञ्जस्थित नारायणी क्रिकेट रंगशालामा नेपालले दिएको १९३ रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली ३०.४ ओभरमै ९० रनमा अलआउट भयो । दिल्लीका लागि शान्तानु यादवले सर्वाधिक ३० रन जोडे भने मोहक कुमारले १९ र साथक पालले १६ रन बनाए ।
नेपालका अपराजित पौडेलले ७ ओभरमा मात्र ९ रन खर्चेर ५ विकेट लिएर घातक प्रदर्शन गरे । त्यस्तै, नितेश पटेलले २ विकेट झारे भने बिपिन शर्मा, नरेन भट्ट र अशोक धामीले समान १-१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै १९२ रन बनायो । अभिषेक तिवारीले ६० रन तथा नरेन भट्टले ५२ रन बनाएर टिमलाई सम्मानजनक स्कोरमा पुर्याए । दिल्लीका शुभम दुवेले ३ विकेट लिए भने आदित्य भण्डारी, अमन चौधरी, रौनक वागेलाले २-२ विकेट लिए ।
अब सिरिजको तेस्रो तथा अन्तिम खेल आगामी १६ गते हुनेछ ।