काठमाडौं/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै रहरले राजतन्त्र पुनःस्थापना नहुने स्पष्ट पारेका छन्।
बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित मानव अधिकार विभागको कार्यक्रममा बोल्दै उनले नेपालमा गणतन्त्र सहजै हट्न नसक्ने दाबी गरे। देउवाले विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका नेताहरूले कठोर संघर्ष गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको उल्लेख गरे।
‘हामीले ठूला नेताहरूको नेतृत्वमा लडेर यो गणतन्त्र ल्याएका हौं। यो नेपाली जनताले संविधानसभामार्फत पारित गरेको व्यवस्था हो। कोही कसैले रहर गरेर फेर्न सक्दैन,’ उनले भने।
सभापति देउवाले नेपालको संविधान समावेशी र समानुपातिक प्रतिनिधित्वयुक्त रहेको भन्दै जनताको अधिकार सुरक्षित रहेको पनि उल्लेख गरे।









