काठमाडौं ।।
प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।
शुक्रबार(आज) बिहान ११ बजेका लागि बोलाइएको बैठक विपक्षी दलहरूले अवरोध गरेपछि आइतबारसम्मका लागि स्थगित भएको हो ।
विषेशगरी नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट सरकारले कुलमान घिसिङलाई हटाएपछि त्यसको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा दिनुपर्ने माग राख्दै बुधबारदेखि उनीहरूले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएका छन् ।
तर प्रधानमन्त्री ओलीले भने हरेक कुराको जवाफ दिन आवश्यक नपर्ने सार्वजनिक कार्यक्रममा बताइसकेका छन् ।
उक्त समस्या समाधानका लागि सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूलाई बैठकमा बोलाएर प्रतिनिधिसभा बैठक सुचारु गर्न अनुरोध गर्दा समेत नमानेपछि सूचना टाँसेर स्थगित गरिएको हो ।
अर्को बैठक आइतबार बिहान ११ बजेको लागि बोलाइएको छ।